अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेर जनतालाई दुःख दिने काम गलत हो: भौतिकमन्त्री दाहाल

यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेर जनतालाई दुःख दिने काम गलत हो: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनभुएको छ।

सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती भएको भौतिकमन्त्री दाहालले बताउनु भयो । उहाँले यातायात व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरू गर्नु गलत भएको बताउनुभयो।

मन्त्री दाहालले सरकारले प्रदेशको अधिकार हनन हुने गरी सम्झौता नगरेको जिकिर गर्नुभयो। ‘हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ,’ भौतिकमन्त्री दाहालले भन्नभयो, ‘केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्‍याएका छौं, जसमा ती कुराहरू सम्बोधन गर्ने हाम्रो तयारी छ। संघको कानून अघि आएपछि मात्रै तलका प्रदेशहरूले कानून बनायो भने सहज हुन्छ भन्ने हिसाबले अहिलेलाई स्थगित राखिदिनुस्। त्यो विषय भनेर अनुरोध गरेका हौँ।‘

राइड शेयरिङलाई कसरी अगाडि बढाउने भन्ने बारे काम भइरहेको बताउनुभयो। ‘राइड शेयरिङलाई व्यवस्थित गर्ने काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन्। तर त्यसलाई नियमन त गर्नुपर्छ, राज्यको दायरामा त ल्याउनुपर्‍यो,’ मन्त्री दाहालले भन्नुभयो।

मन्त्री दाहालले सरकारले यसबारे कानुन र नियमावली बनाउन सरकार लागिरहेको बताउनुभयो। ‘त्यसलाई पनि संघीय कानूनमार्फत नै व्यवस्थित गरौँ भनेर हामीले भनेको हो,’ मन्त्री दाहालले भन्नुभयो।

नेपालमा निजी क्षेत्रले मात्रै सार्वजनिक यातायात सञ्चालन गरेकोले उनीहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो। ‘नेपालको सार्वजनिक यातायात शतप्रतिशत निजीले सञ्चालन गरेको हो। यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ। बन्दै गर्ने कुरा र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन,’ मन्त्री दाहालले भन्नुभयो ।