विराटनगर-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले संघीय प्रणालीको सफल कार्यान्वयनमा महिला नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई दिएको कार्यकारी भूमिकालाई केवल औपचारिक प्रतिनिधित्वको रूपमा नलिन आग्रह गर्दै भन्नुभयो, ‘यी जिम्मेवारीहरू परम्परागत रूपमा प्रमुख वा अध्यक्षको अनुपस्थितिमा मात्र सक्रिय हुने होइन, पूर्णकालीन कार्यकारी जिम्मेवारी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले विगतमा सम्पन्न न्यायिक समितिको सम्मेलन, प्रदेशस्तरीय महिला कार्यक्रमहरू लगायतमा सहभागिताको अनुभव सुनाउँदै स्थानीय तहका महिला जनप्रतिनिधिहरूले भोग्नु परेका चुनौतीहरूबारे अवगत भएको बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले जलवायु संकट, गुणस्तरीय शिक्षा, पोषण, कृषि आधुनिकीकरण, खानेपानी, सरसफाइ लगायत विषयमा स्थानीय सरकारको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुहुँदै भन्न्भयो, दिगो विकास र हरित अर्थतन्त्रका लागि घर–टोलदेखि नै सचेतना अभियान सञ्चालन हुनुपर्छ।’
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो निर्वाचनमा गठबन्धनको कारण महिलाको प्रतिनिधित्व घटेकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै आगामी निर्वाचनमा राजनीतिक दलहरूले संवैधानिक मर्मअनुसार ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले उप–प्रमुख तथा उपाध्यक्षहरूको अधिकार र कार्यक्षेत्र प्रष्ट पार्न कानुनी दस्तावेजमा संशोधन आवश्यक रहेको बताउँदै संघीय अभ्यासलाई सबल बनाउन तालिम, अन्तरक्रिया र भ्रमण कार्यक्रम सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनलाई उहाँले स्थानीय तहहरूबाट सङ्कलित अनुभव, समस्या र सुझावहरूलाई राष्ट्रिय नीतिगत बहसमा लैजाने महत्वपूर्ण अवसरको रूपमा अर्थ्याउँदै समापनमा भन्नुभयो, “स्थानीय तहको भूमिकालाई अझ जनमुखी, जवाफदेही र समावेशी बनाउनु आजको आवश्यकता हो।”
कार्यक्रमको अध्यक्षता विराटनगरका नगरप्रमुख नागेश कोइरालाले गर्नुभएको थियो । कोशी प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, न्यायधीशहरू, विभिन्न दलका प्रतिनिधिहरू, राष्ट्रसेवक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा देशभरिबाट आएका स्थानीय तहका महिला उप–प्रमुख तथा उपाध्यक्षहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रतिक्रिया