अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट ग्वार्को फ्लाई ओभरको उद्घाटन

प्रधानमन्त्री ओलीबाट ग्वार्को फ्लाई ओभरको उद्घाटन


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा बनेको ‘ओभर पास’को उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले शुक्रबार एक समारोहका बीच ‘फ्लाई ओभर’को उद्घाटन गर्नुभएको हो।

 काठमाडौं उपत्यकाको निकै व्यस्त सडक चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ आज देखि सञ्चालनमा आएको छ।

चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो। चक्रपथको सातदोबाटो-कोटेश्वर सडक खण्ड र मंगलबजार-इमाडोल-लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित भएको छ।

अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ। मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।

दुई वर्षभित्र सक्ने गरी २०७८ साल फागुन १२ गते आशिष-समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ओभर पास ठेक्का सम्झौता भएको थियो। तर, तोकिएको समयमा सम्पन्न नभएपछि २०८१ असार सम्का लागि दोस्रोपटक र पुन: २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो। आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति निर्माणको काम रोकिएको थियो।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार पटक-पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीलाई हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर योजना सम्पन्न गरिएको हो।

अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताउनुभयो।

ग्वार्को ओभरपासको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो ओभरपास रहेको छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्‍याम्पको दूरी भने १०.२ मिटर रहेको छ।

चौध करोड थप लागत

केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारी दिनुभयो। ‘करिब रु.१७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो। तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत रु.३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ’, उहाँले थप्नुभयो, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य इपिसी प्रणालीमा भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ।’

भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ।

ट्राफिक व्यवस्थापनमा सहज

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताउनुभयो।

‘ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो। छोटाछोटाभन्दा पनि लामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ’, उहाँले भन्नुभयो, ‘ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् । तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्ने छ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ।’

गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ता ओभरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिनुभयो ।

तस्वीर: दिनेश भण्डारी र प्रधानमन्त्रीको सचिवालय