अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालमाथि सूर्य थापाको टिप्पणी: ‘राजीनामा दिन नसक्नु नैतिक स्खलन हो’

माधव नेपालमाथि सूर्य थापाको टिप्पणी: ‘राजीनामा दिन नसक्नु नैतिक स्खलन हो’


काठमाडौं-नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले भ्रष्टाचार मुद्दा लागेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व नछाडेर नैतिकहीन काम गरेको टिप्पणी गर्नुभएको छ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता थापाले अध्यक्ष नेपालले आफ्नो राजीनामा नदिनु नै नैतिक स्खलन भएको बताउनु भएको हो।

नेता थापाले २०६४ सालको निर्वाचनमा दुई स्थानबाट पराजित भएपछि नेपालले तत्कालीन नेकपा (एमाले)को महासचिव पदबाट दिएको राजीनामा दिनुभएको स्मरण गराउनुभएको छ। तर हाल आएर भ्रष्टाचारको मुद्दा विचाराधीन भइरहँदा पदमा टाँसिरहनु भने लाजमर्दो भएको भन्दै नेता थापाले व्यंग गर्नुभएको छ।

‘आज उहाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाइ पाएँ भने पुन: नेतृत्वमा फिर्ता हुँला भनेर भन्नुहोला भन्ने लागेको थियो’ एमाले नेता थापाले लेख्नुभएको छ, ‘तर आफ्नै स्थायी कमिटी सदस्यले ‘सिनो’ बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु भनेको एउटा भयानक स्खलन र पतन नै हो। पार्टीभित्रबाट राजीनामा दिन बोल्ने/लेख्नेहरूको मुख बन्द गर्न/थुन्न महासचिव घनश्यामले सर्कुलर नै जारी गर्नुभएको रमिता पनि भानुभक्त आचार्यको यसै ‘अलकापुरी कान्तिपुरी नगरी’मा पो देख्नुपरेको छ।’

नेता थापाले पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य मजाक र अशोभनीय बनेको बताउनुभएको छ।

नेता थापाले माधव नेपालले आफ्नो सिंगो जीवन लगाएर निर्माण गरेको पार्टी फुटाउने अपराध गर्नुहोला भन्ने कल्पना पनि नगरेको बताउनु भएकाे छ। नेता थापाले नेपालप्रति व्यक्तिगत सम्मान रहेको जनाउँदै भन्भएकाे छ, ‘उहाँले आफ्नो सिंगो जीवन लगाएर निर्माण गरेको पार्टी फुटाउने अपराध गर्नुहोला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। तर व्यक्तिगत मान, सम्मान र अपमानको दुई तिहाइ दिएर पुष्पकमल दाहालको भाउँतामा लाग्दै पार्टी फुटाउने ऐतिहासिक भूल गर्दै कलंकको टीका लगाउनुभयो। उहाँ भ्रष्टाचारको मुद्दामा डामिएर धरौटीमा तारिख धाउने दिन आउला भन्ने पनि मैले सोच्नसम्म नसकेको विषय थियो। यसमा पनि उहाँ पहिलो प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गर्न पो पुग्नुभयो।’

नेपालको नाम जोडिएका ललिता निवास, धोबीखोला, इटहरी, विराटनगर र काभ्रेका (पतञ्जलि) जग्गा प्रकरण क्रमशः सार्वजनिक भइरहेकामा थापाले त्यसप्रति प्रश्न गर्नुभएकाे छ। उहाँले प्रश्न गर्दै भन्नुभएको छ, ‘ललिता निवास, धोवीखोला, इटहरी, विराटनगर र काभ्रे(पतञ्जलि)का जग्गा प्रकरण एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन्, किन र कसरी यस्तो भएको हो ? उहाँलाई नै थाहा होला।’

नेता थापाले नेपालको वर्तमान अवस्थालाई ‘रिसको माखेसाङ्लो’ मा परेको अवस्था भन्नुभएकाे छ। उहाँले भन्रनुभएकाे छ, ‘रिसले आफू खा, बुद्धिले शत्रु खा” भन्छन्। उहाँ खासमा आफ्नो रिसको माखेसाङ्लोमा नराम्ररी पर्नुभएको छ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भ उल्लेख गर्दै नेता थापाले वाम उम्मेदवारका पक्षमा आफू उभिएको स्मरण गराउनु भएकाे छ। उहाँले लेख्रनुभएकाे छ, ’रामचन्द्र पौडेल नभएर वाम उम्मेदवार राष्ट्रपति हुनुपर्छ भन्ने मान्यतामा थिएँ, तर उहाँ (माधव नेपाल) त्यस विपरीत उभिनुभयो।’

नेता थापाले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजीनामाका मागविरुद्ध ‘सर्कुलर’ नै जारी गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभएकाे छ।