धनुषा- धनुषाको विदेह नगरपालिका-२ स्थित गोबराही इलाकामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामानको खोजतलास गर्ने क्रममा उक्त घटना भएको हो।
तस्करको थप आक्रमणबाट जोगिने सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीलाई मोटरसाइकलमा अवैध सामान लुकाई राखिएको भन्ने सूचनाको आधारमा खटिएको टोलीले गोबराही क्षेत्रमा एक वटा मोटरसाइकल फेला पारेको थियो। त्यसपछि नजिकै रहेको एक टहरोमा पनि खोजतलास गर्ने क्रममा करिब १००–१५० जनाको समूहमा लुकीछिपी बसेका व्यक्तिहरूले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेका थिए।
झडपका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका मध्ये ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने अन्य ३ जनाको अवस्था सामान्य रहेको छ।
प्रतिक्रिया