काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीको जोखिम देखिएका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।
बाढी महाशाखाले जारी गरेको बुलेटिन सामाजिक सञ्जालमा सेयर गर्नहुँदै प्रधानमन्त्री ओलीले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला।’
प्रधानमन्त्री ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ। स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गर्नुभएकाे हाे।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे सतर्कता सूचना जारी गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा देखिएको छ।

जिल्लाका हिसाबले आज संखुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने बाढी महाशाखाले जनाएको छ।
यसैगरी आज काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
साथै आज इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुमपश्चिम, रुकुमपूर्व, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ।
प्रतिक्रिया