काठमाडौं-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि अरुलाई दोष दिने चलन घातक भएको बताउनुभएको छ।
नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकले विभिन्न जनवर्गीय संगठनको केन्द्रीय नेतृत्वमा पुगेकाहरुलाई बधाइ तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ढकालले यस्तो बताउनु भएको हो।

प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने नै सबैभन्दा लोकतान्त्रिक विधि भएकोमा जोड दिनुहुँदै नेता ढकालले निर्वाचनमा गइसकेपछि आउने परिणामलाई स्वीकार्नुपर्ने उहाँको भनाइ थियो ।
नेता ढकालले विगतमा पार्टीको अवस्था अनुसार जनवर्गीय संगठनलाई अस्वभाविक ठूलो बनाउनु परेको बताउनुभयो। कार्यक्रममा नेता ढकालले अहिलेसम्म पार्टीका १६ वटा जनवर्गीय संगठनको महाधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यद्वय सरेश नेपाल र सुवास कर्माचार्यले विभिन्न जनवर्गीय संगठनबाट केन्द्रमा नेतृत्व गर्नेलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया