काठमाडौं-पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक सुरु भएको छ। बैठक एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा केही समय अघि सुरु भएको हो।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव, सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे।
गौतमका अनुसार विधान मस्यौदा समितीका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रष्तुत गर्नुहुनेछ।
केन्द्रीय सचिवालय र पोलिट्ब्युरो बैठकमा ती दस्तावेजमाथि भएको प्रारम्भिक छलफलपछि केन्द्रीय समिति बैठकमा पनि रायका लागि पेस गर्न लागिएको हो।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा ३ मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुची रहेको छ। सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिनुभयो ।
सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ।
पार्टीको २०८२ साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटव्यूरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ।
उपाध्यक्ष पौडेलले विधान यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीम प्रष्तुत गर्नुहुने गौतमले जानकारी दिनुभयो। केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ। मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रष्तुत गरिने गौतमले जानकाी दिनुभयो।
एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ।














प्रतिक्रिया