काठमाडौं-नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ। मङ्सिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प गरेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले लोकतन्त्रको पुनर्बहाली, पार्टीको पुनर्निर्माण, सङ्गठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई मुख्य कार्यभारका रूपमा अघि सारेको छ।

भेलाले पारित गरेको विशेष सङ्कल्पमा असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने, पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउने तथा गत वर्षको निर्वाचनमा बेहोरेको धक्का चिर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सङ्कल्पमा पार्टीका कमी-कमजोरी सच्याउने, जनताका सुझाव, गुनासा र आलोचना सुन्ने तथा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने उल्लेख छ। त्यस्तै, नेता तथा कार्यकर्तामा देखिएका आर्थिक र आचरणगत विचलन, विलासी जीवनशैली, गुटबन्दी र जनताबाट टाढिने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बेहोरेको धक्का चुनावी परिणामबाट मात्रै सुरु नभई सरकार अपदस्त गरिएदेखि नै सुरु भएको बताएका थिए । उनले लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरण अभियानको नेतृत्व एमालेले गर्ने बताए।
भदौ २३ र २४ गतेका घटनाक्रम तथा पार्टीमाथि भइरहेको घेराबन्दीलाई गम्भीरतापूर्वक बुझ्नुपर्नेमा जोड दिँदै ओलीले पार्टीका अगुवा नेता तथा कार्यकर्तालाई प्रतिबद्धता र सङ्कल्पसहित जनतामाझ जान निर्देशन दिएका थिए।
भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने विषयमा सम्बोधन गरेकी थिइन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गर्नुपर्ने विषय उठाएका थिए । उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कामको फेहरिस्त प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।
सरकारका कामको आलोचना, भदौ २३-२४ को घटनाबारे न्यायिक आयोग माग
भेलाले पारित गरेको २१ बुँदे समसामयिक प्रस्तावमा वर्तमान सरकारको आठमहिने कार्यकाललाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथिको हस्तक्षेप र स्वेच्छाचारी शासनका रूपमा चित्रण गरिएको छ।
प्रस्तावमा प्रधानमन्त्रीको शपथपछि पार्टी अध्यक्ष ओलीलाई गरिएको गिरफ्तारी, उपाध्यक्ष विष्णु पौडेललगायत विभिन्न राजनीतिक दलका नेताहरूको गिरफ्तारी, सञ्चारमाध्यममाथिको हस्तक्षेप तथा पत्रकार र सामग्री निर्मातालाई त्रसित बनाउने गतिविधिको विरोध गरिएको छ।
त्यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाबारे सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरेको र दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरिएको छ।
एमालेले संविधान, सङ्घीयता र संवैधानिक संस्थामाथि सरकारबाट हस्तक्षेप भइरहेको दाबी गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। सुकुम्बासी विस्थापन, महँगी, कर वृद्धि, बेरोजगारी र लगानीको वातावरण कमजोर बन्दै गएको विषयलाई पनि प्रस्तावमा उठाइएको छ।
राष्ट्रिय स्वाधीनता र छिमेकीसँगको सम्बन्धमा जोड
भेलाले राष्ट्रिय हित र स्वाधीनताको विषयलाई विशेष प्राथमिकता दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र लामो समयदेखि रोकिएका परियोजनाको कार्यान्वयनबारे स्पष्ट कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढ्नुपर्ने एमालेको धारणा छ।
बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायको माग
भेलाले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको तत्काल पुनर्स्थापना र प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न माग गरेको छ।
बाढीमा १ हजार ४५१ जनाको मृत्यु भएको र ५ हजार ७४५ भन्दा बढी बेपत्ता भएको उल्लेख गर्दै प्रस्तावमा सरकारले राहत तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइएको छ । राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम रहे पनि पीडितले न्यूनतम सुविधा पाउन नसकेको भन्दै प्रभावित क्षेत्रका सडक, पुल र बस्तीको पुनर्निर्माण गर्न माग गरिएको छ ।
जलवायु परिवर्तनबाट सिर्जित विपत्तिको जिम्मेवारी विकसित राष्ट्रहरूले लिनुपर्ने र जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी भूमिका खेल्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ।
निर्वाचनमा पार्टी उम्मेदवारलाई जिताउने प्रतिबद्धता
एमालेले आगामी निर्वाचनमा निर्धारित विधि, जनता र कार्यकर्ताको भावनाअनुसार स्वस्थ प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने तथा पार्टीको निर्णयलाई आत्मसात गर्दै उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने सङ्कल्प गरेको छ।
त्यस्तै, महँगी, बेरोजगारी, विभेद, विस्थापन, शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका विषयमा अग्रमोर्चामा रहेर आवाज उठाउने र जनताको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
भेलाले राष्ट्रिय हितको संरक्षण, संविधान र लोकतन्त्रको रक्षाका लागि देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग संवाद, सहकार्य र जनदबाबका लागि आह्वानसमेत गरेको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित सम्पन्न भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ जना प्रतिनिधि सहभागी थिए।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए।
भेलाको उद्घाटन तथा बन्दसत्रको सञ्चालन सचिव एवं सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले गरेका थिए भने सचिव पद्मा अर्यालले स्वागत गरेकी थिइन्। स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गरेका थिए ।
भेलाले शहीद तथा पार्टीका अग्रज नेताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत नेता तथा कार्यकर्ताका परिवारप्रति समवेदना र उपचाररत नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।



प्रतिक्रिया