अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, आठवटै समझदारी पत्रमा हस्ताक्षर

नेपाल-भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी, आठवटै समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्ताका क्रममा आठवटा महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच प्राविधिक, शैक्षिक, प्रशासनिक, स्वास्थ्य, सञ्चार, कृषि तथा सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

समझदारीअनुसार अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गरिनेछ ।

त्यस्तै, प्रहरी सुरक्षा तथा तालिमको क्षेत्रमा सहकार्य विस्तार गर्न भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ ।

सार्वजनिक प्रशासनलाई प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि पनि सहकार्य गरिने भएको छ । यसका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच आधुनिक स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । साथै आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ ।

कृषि तथा ग्रामीण अर्थतन्त्रको विकासलाई लक्षित गर्दै पशुपालन र मत्स्यपालन क्षेत्रको उत्पादकत्व वृद्धि तथा विकासका लागि पनि नेपाल र भारतबीच समझदारी भएको छ।

त्यसैगरी, अन्तरिक्ष प्रविधिको उपयोग विस्तार गर्न दक्षिण एसिया स्याटेलाइटको प्रभावकारी प्रयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गरिने भएको छ । यससम्बन्धी समझदारी भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच भएको हो ।

बढ्दो सहरीकरणलाई व्यवस्थित गर्दै दिगो र योजनाबद्ध सहर निर्माणका लागि पनि नेपाल र भारतबीच प्राविधिक सहकार्य गर्ने समझदारी भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले दुई देशबीच प्राविधिक, संस्थागत तथा विकास साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यी हुन् समझदारी भएका विषयहरू–

१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।

२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।

३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।

४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।

५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।

६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।

७. स्वास्थ्य र चिकित्सा स् भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।

८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।