नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास पढ्दा केही नामहरू राजनीतिक नेताका रूपमा मात्रै होइन, एउटा युगका साक्षीका रूपमा हाम्रो अगाडि आउँछन्। उनीहरूको जीवनमा राजनीतिक विचार थियो, विद्रोह थियो, जोखिम थियो, भूमिगत जीवन थियो, जेलका चिसा भुईँ थिए, मृत्युको त्रास थियो र भविष्यप्रतिको अटुट विश्वास थियो।
आजको पुस्ताले राजनीतिक प्रतिस्पर्धा, निर्वाचन, सत्ता, पद र प्रतिष्ठालाई राजनीतिका मुख्य उपलब्धि ठान्न सक्छ। तर नेपालको कम्युनिस्ट आन्दोलनको एउटा पुस्ताले राजनीति गर्नुको अर्थ नै आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा उर्वर समय त्याग्नु थियो। परिवारबाट टाढा हुनु, वर्षौंसम्म खुला आकाश देख्न नपाउनु, यातना सहनु र कुनै दिन जेलबाट जीवितै फर्कन पाइन्छ कि पाइँदैन भन्ने अनिश्चितताबीच बाँच्नु उनीहरूको जीवनको यथार्थ थियो।
यही ऐतिहासिक पृष्ठभूमिमा नेकपा एमालेको २०८३ मङ्सिर २ र ३ मा काठमाडौँमा भएको भेलाको अवसरमा कमरेड केपी शर्मा ओलीको र कमरेड मोहनचन्द्र अधिकारीको तस्बिर सार्वजनिक भएको छ।

माइतीघर हाइटस्थित बैंक्वेटमा खिचिएको यस तस्बिरमा दुई पुस्ताका क्रान्तिकारी सहयात्रीहरू सँगै उभिएका छन्। एकातिर झापा आन्दोलनका वरिष्ठ अगुवा मोहनचन्द्र अधिकारी हुनुहुन्छ, अर्कोतिर त्यही आन्दोलनका अर्का अगुवा जो आज एमालेको मात्रै होइन, नेपालकै नेतृत्व गरिरहनु भएका केपी शर्मा ओली हुनुहुन्छ। यो तस्बिरले दुई व्यक्तिको भेट मात्रै बत्ताउँदैन। यो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा लामो इतिहाससँग वर्तमान पुस्ताको साक्षात्कार गर्ने अवसरको रुपमा समेत बुझाउँछ।
नेपालको कम्युनिस्ट आन्दोलनको स्थापना पछिका वर्षहरूमा सामन्ती संरचना, सामाजिक असमानता, गरिबी, भूमिहीनता, निरङ्कुश शासन र राजनीतिक अधिकारको अभावविरुद्ध विभिन्न तहमा सङ्घर्षहरू भएका थिए। वि.सं. २०१७ सालमा राजा महेन्द्रले निर्वाचित संसद् विघटन गरी पञ्चायती व्यवस्था स्थापना गरेपछि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो । राजनीतिक स्वतन्त्रता सीमित भयो । कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनका धेरै नेता र कार्यकर्ता भूमिगत हुन, जेल जान र निर्वासनमा बस्न बाध्य भए । यही राजनीतिक परिवेशमा पूर्वी नेपालको झापा जिल्ला एउटा नयाँ राजनीतिक प्रयोगको केन्द्र बन्न पुग्यो । २०२८ सालतिर विकसित भएको झापा आन्दोलनको पृष्ठभूमिमा भूमिहीन किसान, मोही, जमिनदार र किसानबीचको सम्बन्ध, भूमि सुधारको अपूर्ण कार्यान्वयन र तत्कालीन सामाजिक असमानता थिए। भारतको पश्चिम बंगालमा विकसित नक्सलवादी आन्दोलनले पनि झापाका युवा कम्युनिस्टहरूलाई प्रभावित गरेको थियो।
झापा आन्दोलनले तत्कालीन समाजको वर्गीय संरचनालाई चुनौती दियो। तर यसको एउटा कठोर र विवादास्पद पक्ष पनि थियो। ती दिनहरुमा वर्गशत्रु सफाया गर्ने नाममा हिंसात्मक कारबाहीसमेत भएका थिए। केही व्यक्तिको हत्या भयो र राज्यले पनि विद्रोहीहरूविरुद्ध निर्मम दमन ग¥यो। इतिहासको इमानदार समीक्षा गर्दा यो तथ्य लुकाउनु हुँदैन । क्रान्तिकारी उद्देश्य, किसानका अधिकार र सामाजिक न्यायको आकांक्षा एउटा पक्ष थियो भने हिंसात्मक राजनीतिक विधिले निम्त्याएका मानवीय क्षति अर्को पक्ष थियो।
यही आन्दोलनभित्रै राजनीतिक रणनीतिबारे मतभेद पनि देखियो । केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी र रामनाथ दाहाललगायतका नेताहरू संगठन विस्तार र जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा थिए । अर्कोतर्फ केही नेताहरू तत्काल सशस्त्र संघर्षलाई अघि बढाउनुपर्ने पक्षमा थिए ।
मोहनचन्द्र अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनका त्यस्ता व्यक्तित्व हुनुहुन्छ, जसको राजनीतिक जीवनलाई जेलजीवनको इतिहासबाट अलग गरेर बुझ्न सकिँदैन । उहाँले विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सहभागिता जनाउनुभएको थियो । २०११ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर २०१५ सालमा भद्र अवज्ञा आन्दोलनमा सहभागी भएका कारण उहाँ पहिलोपटक पक्राउ पर्नुभयो र नख्खु जेल पु¥याइनुभयो । त्यसपछि उहाँको जीवन सामान्य नागरिकको जीवनजस्तो रहेन । झापा आन्दोलनमा सक्रिय सहभागिताका कारण उहाँले फेरि राज्यको कठोर दमन सामना गर्नुप¥यो । केपी शर्मा ओलीसँगै उहाँपनि २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ पर्नुभयो । उहाँले १६ वर्ष ९ महिना जेलमा बिताउनुभयो । तर एउटा प्रश्न यहाँ उठ्छ, १६ वर्ष भनेको कति लामो समय हो ? एउटा बालक १६ वर्षमा युवा हुन्छ । एउटा विद्यार्थीले आफ्नो पढाइ पूरा गरेर जीवनको बाटो रोज्छ । एउटा मानिसले परिवार बनाउँछ, सन्तान हुर्काउँछ र आफ्नो जीवनको आधार तयार गर्छ । तर मोहनचन्द्र अधिकारीका लागि जीवनका यिनै सम्भावनाहरू जेलका पर्खालभित्र सीमित भए ।
खुला आकाश हेर्न, परिवारसँग समय बिताउन, सामान्य जीवनका सुखदुःख अनुभव गर्न र समाजसँग स्वतन्त्र रूपमा संवाद गर्न नपाउनु उहाँको जीवनको कठोर यथार्थ थियो । उहाँलाई नेपालको नेल्सन मण्डेला भनेर पनि चिनिन्छ । यो उपमा लामो राजनीतिक कैद र संघर्षको अनुभवसँग जोडिएको हो । उहाँले तराईका पाँच र पहाडका पाँचवटा जेलमा समय बिताउनुभएको विवरण सार्वजनिक छ । जेल परिवर्तन हुनु भनेको उहाँका लागि स्वतन्त्रताको नजिक पुग्नु थिएन । अर्को बन्द कोठरी र अर्को अनिश्चितताको सामना गर्नु थियो ।
त्यतिबेला जेलभित्र राजनीतिक बन्दी हुनुको अर्थ केवल स्वतन्त्रता गुमाउनु थिएन । आफ्नो विचारप्रति प्रतिबद्ध रहँदै मानसिक रूपमा जीवित रहनु पनि एउटा संघर्ष थियो । मोहनचन्द्र अधिकारीको जीवनले हामीलाई सिकाउँछ, राजनीतिक विचारप्रतिको प्रतिबद्धता भाषणबाट प्रमाणित हुँदैन । कहिलेकाहीँ त्यसको मूल्य जीवनका अमूल्य वर्षहरूबाट चुकाउनुपर्छ ।
केपी शर्मा ओलीको राजनीतिक यात्रा पनि सामान्य राजनीतिक करिअरबाट सुरु भएको थिएन । २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका ओली बाल्यकालमै पारिवारिक कठिनाइसँग जुध्नु परेको व्यक्तित्व हुनुहुन्छ । उहाँ चार वर्षको हुँदा आमाको निधन भएको थियो । त्यसपछि हजुरआमाको संरक्षणमा हुर्कनुभयो ।
परिवार झापा बसाइँ सरेपछि उहाँको सामाजिक र राजनीतिक चेतनाको विकास भयो । रामनाथ दाहालको नेतृत्वमा सञ्चालित माक्र्सवादी अध्ययन समूहसँग जोडिएपछि उहाँमा कम्युनिस्ट विचारप्रतिको रुचि विकसित भयो । २०२३ सालतिर माक्र्सवादी अध्ययन समूहमा आबद्ध हुनुभएका ओली २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो । त्यसपछि उहाँ पूर्णकालीन राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो । राजनीतिमा लाग्नु भनेको कुनै सुरक्षित पेसा रोज्नु थिएन । पञ्चायती शासनविरुद्ध बोल्नु, संगठन गर्नु र प्रतिबन्धित राजनीतिक पार्टीको सदस्य बन्नु नै राज्यको नजरमा अपराधसरह थियो । २०३० साल असोज २३ गते रौतहटबाट उहाँसँगै मोहनचन्द्र अधिकारी पनि पक्राउ पर्नु भएको थियो । त्यसपछि उहाँको जीवनमा अर्को ठूलो अध्याय सुरु भयो ।
उहाँले ४ बर्ष गोलघर सहित लगातार १४ वर्ष जेलमा बिताउनुभयो । यो समय उहाँको जीवनको सबैभन्दा ऊर्जाशील र सिर्जनशील उमेर थियो । जेलभित्र उहाँले शारीरिक यातना, मानसिक दबाब र कठोर बन्दी जीवनको सामना गर्नुप¥यो । विशेषगरी गोलघरको यातनापूर्ण जीवन उहाँको राजनीतिक इतिहासको महत्त्वपूर्ण पक्ष हो । गोलघर सामान्य जेलको कोठा थिएन । त्यो जेलभित्रकै कठोर बन्दीगृह थियो अर्थात जेलभित्रको पनि जेल थियो ।
त्यहाँ मानिसले आफ्नो शरीर मात्र होइन, मानसिक धैर्यसमेत जोगाउनु पथ्र्यो । केपी ओलीले जेलभित्र बिताएको समय व्यक्तिगत पीडाको कथा मात्रै थिएन । उहाँ जेलभित्रै रहँदा पनि पार्टीको संगठनात्मक जीवनसँग जोडिनुभयो । २०३५ सालमा स्थापना भएको नेकपा (माले) को संस्थापक नेतामध्ये उहाँ एक हुनुहुन्थ्यो । जेलमै रहँदा पार्टीको केन्द्रीय नेतृत्वमा पनि उहाँको भूमिका स्थापित हुँदै गयो । अन्ततः २०४४ साल असारमा जेलबाट रिहा भएपछि उहाँ फेरि सक्रिय राजनीतिमा फर्कनुभयो । एउटा मानिस १४ वर्षपछि जेलबाट बाहिर आउँदा उसको संसार बदलिएको हुन्छ । साथीहरू छुटेका हुन्छन्, कतिपय सहयात्रीहरू शहीद भइसकेका हुन्छन्, समाज बदलिएको हुन्छ र राजनीतिक परिस्थितिले नयाँ रूप लिइसकेको हुन्छ । तर ओलीका लागि राजनीतिक यात्रा समाप्त भएको थिएन । जेलबाट बाहिर आएपछि उहाँले संगठन निर्माण, पार्टी विस्तार र पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षलाई निरन्तरता दिनुभयो ।
त्यसपछि उहाँ संसदीय राजनीतिमा प्रवेश गर्नुभयो र क्रमशः पार्टी नेतृत्व हुँदै प्रधानमन्त्रीसम्म बन्नुभयो । जेलको कोठरीबाट सिंहदरबारसम्मको यो यात्रा आफैँमा नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण रूपान्तरण हो ।
मोहनचन्द्र अधिकारी र केपी शर्मा ओलीको जीवनमा सबैभन्दा अर्थपूर्ण ऐतिहासिक सम्बन्ध उनीहरूको जेलजीवनसँग जोडिएको छ । दुवै नेता २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ पर्नुभयो । त्यसैले उनीहरूको राजनीतिक सहयात्रालाई केवल झापा आन्दोलनको संगठनात्मक सम्बन्धमा सीमित गरेर बुझ्न मिल्दैन । उहाँहरूलाई राज्यको दमन सामना गर्ने एउटै राजनीतिक आन्दोलनका प्रतिनिधिकारुपमा समेत बुझनु पर्दछ । उहाँहरु सँगसँगै गोलघर पनि बस्नु भएको थियो ।
एकछिन कल्पना गरौँ, एउटा सानो कोठरी, सीमित हावा, सीमित उज्यालो, बाहिरको संसारसँग लगभग टुटेको सम्पर्क र अनिश्चित भविष्य । त्यहाँ राजनीतिक बहस कसरी हुन्थ्यो होला ? पार्टीको भविष्यबारे के कुरा हुन्थ्यो होला ? बाहिर रहेका साथीहरूको अवस्था कस्तो होला भनेर कति चिन्ता गरिन्थ्यो होला ? कुनै दिन जेलबाट बाहिर निस्कन पाइन्छ कि पाइँदैन भन्ने निश्चितता थिएन । तर पनि राजनीतिक विश्वास र परिवर्तनको आकांक्षा जीवित थियो । जेलका ती दिनहरूमा उहाँहरूले समय मात्रै बिताउनु भएको थिएन, एउटा राजनीतिक पुस्ताको चेतना, संगठन र भविष्यका सम्भावनाहरू पनि बोक्नु भएको थियो ।
एमालेको राष्ट्रिय भेलामा सार्वजानिक भएको यो तस्बिर एउटा सामान्य भेटघाट होइन, यो विगतका संघर्षहरूको स्मृति हो । यो एउटा पुस्ताले अर्को पुस्ताका लागि छोडेको इतिहास हो ।
नेपालको पञ्चायती शासनकालमा राजनीतिक बन्दीहरूले भोगेको गोलघरको अनुभव आजको पुस्ताले सहजै कल्पना गर्न सक्दैन । आजको पुस्ताले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न सक्छ । राजनीतिक दल खोल्न सक्छ । सभा, सम्मेलन र जुलुस गर्न सक्छ । सरकारको आलोचना गर्न सक्छ । तर त्यतिबेला राजनीतिक विचार व्यक्त गर्नु नै जेल पुग्ने कारण बन्न सक्थ्यो । गोलघर मानिसको आत्मसम्मान, शारीरिक क्षमता र मानसिक धैर्यको कठिन परीक्षा थियो ।
केपी ओलीकी पत्नी राधिका शाक्यले केपी शर्मा ओलीले गोलघरमा भोग्नुपरेको अमानवीय अवस्थाबारे मेरो अनुभूति पुस्तकमा सार्वजनिक गर्नु भएको छ । त्यहाँ कैदीले सामान्य रूपमा उभिन, खुट्टा तन्काएर सुत्न वा सहज रूपमा दैनिक आवश्यकताहरू पूरा गर्नसमेत नपाउने अवस्था भएको कुरा उहाँले आफनो पुस्तकमा उल्लेख गर्नु भएको छ।
यस्तो वातावरणमा वर्षौं बिताउनु कति कठिन थियो भन्ने कुरा आजको पुस्ताले बुझने प्रयास सम्म नगरि नेताहरुको मानमर्दन गर्ने दुस्साहस देख्ता इतिहास र त्यागप्रति गरेको अपमान गरेको अनुभूति जो कोहीलाई हुन्छ नै।
तर यो तस्वीरले हामीलाई सोच्न बाध्य बनाएको छ। मोहनचन्द्र अधिकारी र केपी शर्मा ओलीको राजनीतिक बाटो सजिलो थिएन। उहाँहरुले आफ्नो जीवनको महत्त्वपूर्ण समय जेल र राजनीतिक संघर्षमा बिताउनु भयो । यो तस्वीरले हामीलाई राजनीतिलाई व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाभन्दा माथि उठेर समाज परिवर्तनको माध्यम बनाउन सिक्नुपर्छ भन्ने सन्देश दिएको छ ।
राजनीतिक यात्रामा अनेक कठिनाइ, निराशा र चुनौती आउँछन्। तर आफ्नो विचार र उद्देश्यप्रति इमान्दार रहनु महत्त्वपूर्ण हुन्छ। उहाँहरुमा जेल जीवनमा कतिपनि विचलन आएन । यो तस्वीरले आजको पुस्तालाई चुनौति र अप्ठ्याराहरुमा उहाँहरुको जीवनबाट सिक्न र गन्तव्यबाट विचलित नहुने प्रेरणा दिएको छ।
कुनै समय एउटै आन्दोलनमा संघर्ष गरेका सहयात्रीहरू जीवनको लामो अन्तरालपछि पनि भेटिन्छन् । यसले राजनीतिक सम्बन्ध पद, जिम्मेवारी र शक्तिमा आधारित हुनुहुँदैन भन्ने सन्देश दिन्छ । राजनीतिक असहमति हुन सक्छ, तर इतिहास र योगदानप्रतिको सम्मान हराउँदैन भन्ने सन्देश यो तस्वीरले दिएको छ ।
आजको पुस्ताले लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र संगठन निर्माणका लागि अग्रज पुस्ताले भोगेको कठिनाइ बुझ्नुपर्छ । वर्तमानका उपलब्धिहरूको पछाडि विगतका संघर्ष र बलिदान छन् भन्ने कुरा आजको पुस्तालाई यो तस्वीरले राम्रैसँग बुझाएको छ।
नेतृत्व भाषण र लोकप्रियताबाट मात्र स्थापित हुँदैन। संकटमा धैर्य राख्ने, संगठनलाई जोगाउने, कार्यकर्ताको विश्वास कायम गर्ने र कठिन निर्णय लिन सक्ने क्षमता नै नेतृत्वको वास्तविक परीक्षा हो।
पुरानो पुस्ताले अनुभव दिनुपर्छ र नयाँ पुस्ताले नयाँ विचार, प्रविधि, ज्ञान र ऊर्जा थप्नुपर्छ। इतिहासको सम्मान गर्नु भनेको पुरानै तरिका दोहो¥याउनु होइन। अनुभवबाट सिकेर अझ राम्रो राजनीतिक संस्कृति निर्माण गर्नु हो।
जेलजीवन, राजनीतिक आन्दोलन र बलिदान आफैँमा अन्तिम उपलब्धि होइनन् । तिनको सार्थकता जनताको जीवनमा परिवर्तन ल्याउन सक्नुमा छ । नयाँ पुस्ताले रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र आर्थिक समृद्धिलाई आफ्नो राजनीतिक लक्ष्य बनाउनुपर्छ । यो तस्बिरमा दुई जना व्यक्ति मात्र उभिएका छैनन्, यहाँ एउटा पुस्ताको संघर्ष, त्याग र राजनीतिक इतिहास उभिएको छ । यो तस्वीरले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा कठिन र संघर्षपूर्ण अध्याय सम्झाएको छ ।
आजको नयाँ पुस्तालाई यो तस्वीरले एउटा कुरा राम्ररी सम्झाएको छ । हामीले उपभोग गरिरहेको राजनीतिक स्वतन्त्रता र अभिव्यक्तिको अधिकार सहज थिएन । यसका लागि अग्रज पुस्ताले आफ्नो जवानी, पारिवारिक सुख र व्यक्तिगत स्वतन्त्रतासमेत त्यागेको इतिहास छ । तर इतिहासको सम्मान गर्नु भनेको विगतकै बाटोमा हिँड्नु मात्र होइन । इतिहासबाट सिकेर आफ्नो समयका चुनौती समाधान गर्नु हो ।
हिजोको पुस्ताले राजनीतिक स्वतन्त्रताको सपना देख्यो। आजको पुस्ताले आर्थिक स्वतन्त्रता, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्नुपर्छ। हिजोका क्रान्तिकारीहरूले निरंकुशताविरुद्ध संघर्ष गरे। आजका युवाहरूले भ्रष्टाचार, बेरोजगारी, विभेद, गरिबी र अवसरको असमानताविरुद्ध वैचारिक तथा लोकतान्त्रिक संघर्ष गर्नुपर्छ । हिजोको पुस्ताले जेलको अँध्यारोमा भविष्यको उज्यालो खोज्यो। आजको पुस्ताले ज्ञान, विज्ञान, प्रविधि, उद्यमशीलता र सिर्जनशीलताबाट राष्ट्रको भविष्य उज्यालो बनाउनुपर्छ। एउटा पुस्ताको बलिदानको वास्तविक अर्थ अर्को पुस्ताको उज्ज्वल भविष्यमा मात्र स्थापित हुन्छ।
यो तस्बिरले हामीलाई दिएको सबैभन्दा ठूलो सन्देश भनेको संघर्षको विरासतलाई सम्मान गर, विचारको निरन्तरता कायम राख र भविष्य निर्माण गर्ने जिम्मेवारीबाट कहिल्यै पछि नहट भन्ने सन्देश हो।



प्रतिक्रिया