काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)सँग मिलेर जाने सहमति भइसकेको बताएका छन्।
आज गोरखा पुगेका प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट घटकसँग पनि सडक र सदन दुवै ठाउँमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताएका हुन्।
उनले एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर संघर्ष गर्ने तथा स्थानीय र प्रदेशसभा निर्वाचनमा पनि संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय भएको जानकारी दिए।
‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै संघर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ प्रचण्डले भने।
उनले सहकार्यमा मात्र सीमित नभई सबै कम्युनिस्ट पार्टीलाई एउटै केन्द्रमा ल्याएर पार्टी एकता गर्ने प्रयाससमेत भइरहेको बताए। कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको दिशामा अघि बढ्न कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
‘एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ। देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ,’ उनले भने।



प्रतिक्रिया