अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का


काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस एकाइ समितिले आज हरितालिका पर्वका अवसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा उहाँले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभएको हो।

उहाँले तीजलाई केबल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो। ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ, त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईहरुको जिम्मेवारी हो, तीज सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ’, उहाँले भन्नुभयो।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ‘हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिनेमात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्’, उहाँले भन्नुभयो।

पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गर्नुभयो। नेविसङ्घ एकाइ समितिका अध्यक्ष सरोज लिम्बूले तीज सबै जातजाति र भाषा-भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउनुभयो।