ललितपुर-संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय गाइनोकोलोजिष्क इन्डोस्कोपी सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र नभई नेपालमा स्वास्थ्य सेवा अभ्यासलाई थप प्रभावकारी बनाउने ऐतिहासिक अवसरको रुपमा लिएको छु भन्नुभएको छ।
नेपाल सोसाइटी फर गाइनोकोलोजिष्क इन्डोस्कोपीद्वारा आज शनिबार ललितपुरमा आयोजित दोस्रो नेपाल माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय गाइनोकोलोजिष्क इन्डोस्कोपी सम्मेलनमा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले आज हामीले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा ल्याएका छौँ भन्दै यो सम्मेलन नेपालको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई अझै मजबुत बनाउने दिशामा केन्द्रित रहेको सुन्न पाउँदा खुसी लागेको छ भन्नुभएको हो।
“चीन, भारत र नेपालका विशेषज्ञहरूको उपस्थितिले यस सम्मेलनलाई अन्तर्राष्ट्रिय महत्व दिएको छ, स्वास्थ्यसम्बन्धी चुनौतीहरू आज कुनै एक देशमा मात्र सीमित छैनन्, ती विश्वव्यापी छन् । त्यसैले तिनको समाधान पनि साझा दृष्टिकोण र सहकार्यद्वारा सम्भव हुन्छ भन्ने यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागिताले प्रष्ट पारेको छ।” उहाँले भन्नुभयो।
सभामुख घिमिरेले यस्ता सम्मेलनले नेपाललाई मेडिकल पर्यटनमा प्रतिस्पर्धी बनाउने र अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य प्रविधि अपनाउन मार्ग प्रशस्त गर्ने महसुस गरेको छु भन्नुभएको छ।
“यस सम्मेलनले आधुनिक शल्यक्रियामा प्रविधि र दक्षताको महत्वलाई उजागर गर्दै नेपालमा पनि अत्याधुनिक शल्यक्रिया प्रविधि अपनाउने काममा लाभ पुग्ने विश्वास लिएको छु, सम्मेलनले विशेषज्ञहरूमाझ अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र अनुसन्धानको जानकारी लिन र दक्ष जनशक्ति विकासमा योगदान पुर्याएको छ, यसको सफलता स्वास्थ्य सेवा गुणस्तरीय बनाउन, बिरामीलाई कम पीडा र उपचार खर्च घटाउन सहयोगी हुने छ।” उहाँले भन्नुभयो।

उहाँले दूरविनबिधि शल्यक्रिया प्रणाली आधुनिक स्वास्थ्य विज्ञानमा नविनतम परिवर्तन हो भन्दै पहिले जस्तो खुला शल्यक्रियामा हुने लामो अस्पताल बसाइ, बढी पीडा र जोखिम घटाएर अहिले छोटो समयमै, कम पीडा र कम जटिलता सहित उपचार सम्भव भएको छ भन्नुभएको छ।
“विशेष गरी स्त्रीरोग सम्बन्धी उपचारमा यसले नयाँ आशा दिएको छ, यसले आम स्वास्थ्यको स्तर उकास्ने, मातृ स्वास्थ्यमा सुधार ल्याउने र महिलाको जीवनस्तरलाई उचो पार्ने काममा सघाउन पुर्याएको छ, नेपालले पछिल्ला वर्षहरूमा मातृ र शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, तर अझै पनि ग्रामीण क्षेत्रमा पहुँचको कमी, दक्ष जनशक्तिको अभाव, र लागतअनुकूल प्रविधि अभावजस्ता चुनौती कायम छन्, यिनै चुनौतीहरूलाई सम्बोधन गर्न यो प्रविधि महत्वपूर्ण साधन बन्न सक्छ।” उहाँले भन्नुभयो।
सभामुख घिमिरेले दूरविनबिधि शल्यक्रियाको माग विश्वभर तीव्र गतिमा बढ्दो छ भन्दै नेपाल पनि यस प्रवृत्तिसँगै अघि बढिरहेको देख्दा गर्व लाग्छ भन्नुभयो।
” प्रविधिले ल्याएको यी उपलब्धिहरूलाई संस्थागत गर्न हामीले केही महत्वपूर्ण काम गर्नुपर्ने छ,खासगरी प्रविधिमा चिकित्सक, नर्स र प्राविधिक जनशक्तिलाई तालिम दिने, आधुनिक ल्यापारोस्कोपिक र रोबोटिक प्रविधिको प्रयोग, स्थानीय अध्ययन, अनुभव र विश्वस्तरीय अभ्यासलाई नेपालमै लागू गर्ने र प्रविधि उपयोग, लागत वहन सुनिश्चित गर्ने नीति निर्माणमा ध्यान दिन विज्ञ साथीहरुलाई अनुरोध गर्दछु।” उहाँले भन्नुभयो।
उहाँले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक को रूपमा व्याख्या गरेको छ भन्दै प्रतिनिधि सभाको सभामुखको हैसियतले म हाम्रो संसद स्वास्थ्य क्षेत्रमा नीतिका अभावले भइरहेका समस्या समाधान गर्न तपाईंहरुसँगै रहेको प्रतिबद्धता व्यक्त गर्दछु भन्नुभयो।
“टेलिग्राम, स्थायी फोन, इमेल हुँदै अघि बढेको दूरसञ्चारको विकास आज मोबाइल, सामाजिक सञ्जाल र प्रत्यक्ष प्रसारणको युगसम्म आइपुगेको छ, जुन हामी मध्येका धेरैले आफ्नै आँखाले देखेका र अनुभव गरेका छौं, यस्तो परिवर्तन केवल सञ्चार क्षेत्रमा मात्र सीमित छैन, यो प्रविधिको हरेक क्षेत्रमा समानरूपले लागू हुन्छ, विशेष गरी स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन अझै वृहत् रहेको छ, चिकित्सक तथा स्वास्थ्यकर्मी मित्रहरूले ती परिवर्तन प्रत्यक्ष देखेका, भोगेका र आफूलाई त्यसअनुसार अद्यावधिक गर्नुभएको छ।” सभामुख घिमिरेले भन्नुभयो।
उहाँले नेपालले महिला स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ भन्ने कुरा तथ्याङ्कले प्रमाणित गर्छ भन्दै मातृ मृत्युदरमा आएको उल्लेखनीय कमी यसको प्रमुख उदाहरण हो भन्नुभयो।
उहाँले सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतभन्दा बढी घटेको तथ्य आफैंमा ठूलो उपलब्धि हो भन्दै स्वास्थ्य सेवा बृहद हुँदै गएको छ भन्नुभयो।
“अस्पताल र स्वास्थ्य संस्थाहरू अभूतपूर्व रूपमा थपिएका छन्, स्वास्थ्यकर्मीको संख्या बढेको छ, र सेवा अब देशका हरेक कुनाकाप्चामा विस्तार हुँदै गएको छ, यसैबीच नयाँ प्रविधिहरू स्वास्थ्य क्षेत्रमा थपिएका छन् र ती निरन्तर विकसित भइरहेका छन्,यो प्रगति सम्भव बनाउन राज्यप्रति पनि कृतज्ञता व्यक्त गर्नुपर्छ।” उहाँले भन्नुभयो।
उहाँले सम्मेलनले महिला स्वास्थ्य सेवा र प्रविधिको विकासलाई अझ सुदृढ पार्ने ऐतिहासिक भूमिका निर्वाह गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभयो। उहाँले यस प्रकारका अन्तर्राष्ट्रिय र क्षेत्रीय साझेदारीलाई आगामी दिनमा पनि निरन्तर बढाउन आग्रह गर्दछु भन्दै यस्ता सम्मेलनबाट प्राप्त हुने निष्कर्षले उपचारको गुणस्तर मात्र बढाउँदैन, सबै वर्गका मानिसलाई सस्तो र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन पनि मद्दत पुर्याउँछ भन्नुभयो।
“प्रविधिले अवसर ल्याउँछ, साथै जिम्मेवारी पनि बढाउँछ, नयाँ प्रविधि अपनाउँदा हामीले नैतिक मूल्य, बिरामीको सुरक्षा र लागतसम्बन्धी प्रश्नहरूलाई ध्यानमा राख्नैपर्छ, स्वास्थ्य सेवा गुणस्तरयुक्त हुनु मात्र होइन, सबैका लागि उपलब्ध र पहुँचयोग्य हुनु आवश्यक छ।” उहाँले भन्नुभयो।
उहाँले सरकार मात्रले स्वास्थ्य क्षेत्रमा सबै आवश्यकता पूरा गर्न सक्दैन भन्दै सार्वजनिक–निजी साझेदारी मोडललाई अझ मजबुत बनाउनुपर्छ भन्नुभयो।
“सरकारी अस्पताल, निजी क्षेत्र र व्यावसायिक संघहरूको सहकार्यले मात्र आधुनिक प्रविधिलाई जिल्ला र प्रदेश स्तरसम्म पुर्याउन सकिन्छ, त्यसैगरी, टेलिमेडिसिन र डिजिटल परामर्श प्रविधिमा लगानी गरेर विशेषज्ञ सेवाहरू ग्रामीण क्षेत्रमा पुर्याउन सकिन्छ।” उहाँले भन्नुभयो।
सभामुख घिमिरेले यहाँ भएका छलफल र प्रस्तुतिले नेपालको स्वास्थ्य सेवामा ठोस सुधार ल्याउने विश्वास लिएको छु भन्दै निष्कर्ष र सुझावहरु नीति निर्माणमा समेत सघाउ पुग्ने दस्तावेज बन्ने विश्वास लिएको छु भन्नुभयो।







प्रतिक्रिया