अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । ‘सबै तयारी पूरा भइसकेको छ ।  प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं ।’ यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो।

‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ नियन्त्रक अधिकारीले भने । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।

यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।