काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।
नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिए।
बोर्ड सदस्यहरूलाई नतिजा सार्वजनिक गर्नुपूर्व डेमो प्रदर्शन गरिसकिएको बताइएको छ । डेमो सफल भएसँगै केही बेरमा रिजल्ट सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’ मा गएर एसईईको नतिजा हेर्न सकिने जनाएको छ ।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।








प्रतिक्रिया