अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला

काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला


काठमाडौं-काठमाडौं महानगरपालिकाले कक्षा-११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै २०८३ जेठ १ गतेदेखि आवेदन खुला हुने तथा परीक्षा तालिका सार्वजनिक गरेको हो।

शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन हुने छात्रवृत्ति परीक्षाको आवेदन महानगरपालिकाको वेवसाइटमार्फत www. kathmandu.gov.np मार्फत दिन सकिने व्यवस्था गरिएको छ।

अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

यस्तै, छात्रवृत्तिका लागि परीक्षा २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने जनाइएको छ। परीक्षामा माध्यमिक तह कक्षा-१० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण काठमाडौं महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ। विद्यार्थी तथा अभिभावकलाई समयमै आवेदन दिन पनि आग्रह गरिएको छ।

काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत (निजी) विद्यालयहरुमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ।

२०७९ देखि महानगरले व्यवस्थित रूपमा संस्थागत विद्यालयमा कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्। 

गत वर्ष काठमाडौँ महानगरपालिका सञ्चालन गरेको कक्षा-११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए।  त्यसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्येबाट पनि करिब ४५ सय विद्यार्थीले मात्रै छात्तवृत्ति प्राप्त गरेका थिए। 

वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा छात्रवृत्तिको यो प्रणाली विकास गरेका थिए।

कस्ता विद्यार्थीले दिन सक्छन् आवेदन ?

महानगरका अनुसार महानगरको छात्रवृत्तिमा आवेदन दिनका लागि एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनुपर्दछ। त्यस्तै, सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई उत्तीर्ण गरेका विद्यार्थीले मात्र फारम भर्न सक्नेछन्। यदि काठमाडौं महानगरपालिका स्थायी बासिन्दाको हकमा भने जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र आवश्यक पर्दछ।

त्यस्तै, ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १,२,३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १,३,४ का स्थायी बासिन्दा (नागरिकता वा जन्मदर्ता) र सम्बन्धित वडाको सिफारिसपत्रका आधारमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, संस्थागत विद्यालयमा कक्षा-१० सम्म छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले पनि महानगरको छात्रवृत्तिका लागि फारम भर्न सक्छन् ।