नेपालगञ्ज-अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सबै विद्यालय चार दिनका लागि बन्द गरिएका छन्।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको परिपत्रअनुसार २०८३ जेठ २६ गतेदेखि २९ गतेसम्म आधारभूत तथा माध्यमिक तहका सम्पूर्ण कक्षाको पठनपाठन बन्द रहनेछ। शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने तथा विद्यालय आवतजावतमा कठिनाइ भएको भन्दै गर्मी बिदा दिइएको जानकारी दिए।
उपमहानगरपालिकाले जारी सूचनामा विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिभर विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
पछिल्ला केही दिनयता पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढिरहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मीको प्रभाव तीव्र बनेको छ। लामो समयदेखि वर्षा नहुँदा नेपालगञ्ज, कोहलपुर, धनगढी र महेन्द्रनगरलगायत क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।
देशका अन्य भागमा वर्षा भए पनि पश्चिम तराई क्षेत्रमा वर्षा नहुँदा गर्मी झन् बढेको स्थानीयवासीले बताएका छन्। विद्यालय बन्द गर्ने निर्णयलाई विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदमका रूपमा हेरिएको छ।
Top of Form






प्रतिक्रिया