काठमाडौं-विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू तीन वर्षभन्दा बढी मन्त्री भएर नबस्ने घोषणा गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विनियोजित बजेटबारे सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री पुनले नवप्रवर्तन र आविस्कारका लागि काम गर्न सहयोग गर्न सांसदलाई आग्रह गरे। अहिले शून्यबाट काम सुरु गर्नु परिरहेको बताउँदै कानुन बनाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तका क्षेत्रमा काम गर्नकै लागि आफू मन्त्री भएको बताए। विज्ञान, प्रविधि तथा नवप्रवर्तनको जग बसालेर छोड्ने उनको भनाइ थियो। ‘म त तीन वर्षभन्दा बढी बस्दैन। अरु तयार हुनुपर्छ, को को हुने हो,’ मन्त्री पुनले भने।
आफ्नो मन्त्रालयमा राम्रो सचिव पठाउनुपर्ने उनको भनाइ थियो। ‘सचिवहरू एकदम तखडा आउनुपर्छ,’ पुनले भने, ‘कुनै मन्त्रालयमा काम नलाग्ने, अटेर सचिवलाई त्यहाँ पठाउने होइन।’
आफूले वर्षौंदेखि नै देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १ प्रतिशत विज्ञान तथा प्रविधिका लागि छुट्याउनुपर्ने माग गर्दै आएको उनले स्मरण गराए। अहिले त्यसअनुसार, बजेट विनियोजन नभएको भए पनि अर्को वर्षदेखि बढाउँदै लगिने उनको भनाइ थियो।
‘दोस्रो वर्षमा जीडीबीको १ प्रतिशत छुट्याउनै पर्छ। बल्ल छलाङसम्म मार्न तयार हुन्छ। छलाङ त मारिँदैन,’ पुनले भने।
म त अहिले जोगी भएँ: मन्त्री पुन
मन्त्री पुनले देशसँग पिरती लगाउँदा मन्त्री बने पनि जोगी भएको महसूस गरेको सुनाए। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै यस्तो टिप्पणी गरेका हुन्। यसका क्रममा उनले ‘पिरतीले जोगी बनायो’ भन्ने गीत उद्धृत गरे।
‘एउटा गीत छ– मत यस्तो होइन दाइ, पिरतीले जोगी बनायो। यो पहिला पहिलातिरको समयमा गाईन्थ्यो यो गीत। अब म पनि त्यस्तो संसद् हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो,’ उनले भने।
सुरुमा गाउँसँग पिरती लागेको र पछि जिल्ला हुँदै देशमा परिणत भएको उनको भनाइ थियो। ‘मेरो पिरती खासमा देशसँग बसेको हो। तर सुरुमा एकैचोटी देशसँग बसेको होइन। त्यो चाहीँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरति बस्यो,’ उनले भने।
आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि उनले संसद्मा सुनाए। ‘पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए भन्ने कुरा आयो क्या। मन्त्री भए भन्ने कुरा आयो,’ उनले भने।






प्रतिक्रिया