काठमाडौं–बेलायतका प्रधानमन्त्री तथा सत्तारुढ लेबर पार्टीका नेता कीर स्टार्मरले पदबाट राजीनामा दिएका छन्। पछिल्ला केही सातादेखि आफ्नै दलभित्र नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला उनले राजीनामाको घोषणा गरेका हुन्।
बेलायती राजा चाल्र्ससँगसँगको परामर्शपछि स्टार्मरले प्रधानमन्त्री र संसदीय दलको नेताको दुवै जिम्मेवारीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्। डाउनिङ स्ट्रिटमा गरिएको भावुक सम्बोधनमा उनले आफ्नी पत्नीप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री बन्नु आफ्नो जीवनकै सबैभन्दा गर्विलो क्षण भएको बताए।
आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु। त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’
निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी- एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’
स्टार्मरले शान्तिपूर्ण र विधिसम्मत ढंगबाट सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार, नयाँ नेता चयन नभएसम्म भने उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहने जनाइएको छ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाएर प्रधानमन्त्री बनेका स्टार्मर पछिल्लो समय कमजोर जनसमर्थन, स्थानीय निर्वाचनमा पार्टीको खराब प्रदर्शन तथा दलभित्र बढ्दो असन्तुष्टिका कारण दबाबमा थिए। उनको राजीनामासँगै लेबर पार्टीमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ।
राजीनामाको मुख्य कारण के हो ?
दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो। अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो।
गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो।
बर्नहम लेबर पार्टीको नेतृत्व सम्हाल्ने र भावी प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। स्टार्मरको मन्त्रिमण्डलका आधा दर्जनभन्दा बढी मन्त्रीहरू र १०० भन्दा बढी सांसदहरूले उनलाई राजीनामा दिन दबाब दिएका थिए।
नयाँ प्रधानमन्त्री कहिले बन्नेछन् ?
स्टार्मरले राजीनामाको घोषणा गर्दै पार्टीको नयाँ नेतृत्व चयनको समयसीमा पनि सार्वजनिक गरेका छन्। जसअनुसार जुलाई ९ देखि उम्मेदवारी दर्ता खुला हुनेछ।
यदि एन्डी बर्नहमको विरुद्धमा कोही उम्मेदवार उठेनन् र उनी निर्विरोध भए भने उनी जुलाईको मध्यमै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।
तर, पार्टीभित्र चुनावमै जानुपर्ने अवस्था आएमा अगस्टको अन्त्यसम्ममा नयाँ प्रधानमन्त्री चयन भइसक्नेछन्। सेप्टेम्बरमा संसद् सुरु हुनुअघि नै शक्ति हस्तान्तरण भइसक्ने स्टार्मरले बताएका छन्।






प्रतिक्रिया