अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


काठमाडौं-नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। पार्टीका विभिन्न कमिटी तथा संगठनलाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

बैठकमा पार्टीको सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट तथा केन्द्रीय कमिटीबाट टुंग्याउन बाँकी विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका विभाग, ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषद्लाई पूर्णता दिने विषय बैठकको प्रमुख कार्यसूचीमा रहेका छन्।

एमालेले बाँकी रहेका संगठनात्मक संरचनालाई पूर्णता दिँदै पार्टीका विभिन्न निकायलाई व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको छ। यसअघि सुरु भएको स्थायी कमिटी बैठकमा पनि पार्टीका विभिन्न कमिटी तथा संगठनमा पदाधिकारी र सदस्यहरूको मनोनयनलगायत विषयमा छलफल हुँदै आएको छ।

शनिबारको बैठकबाट विभिन्न निकायमा पदाधिकारी तथा सदस्यहरूको मनोनयन र जिम्मेवारी बाँडफाँटसम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ। यद्यपि, कुन–कुन पदमा कसलाई जिम्मेवारी दिइने भन्ने विषयमा बैठकबाट निर्णय सार्वजनिक भएपछि मात्रै टुंगो लाग्नेछ।

बिहीबार सुरु भएको बैठकमा पार्टीका सांगठनिक विषयसहित चारवटा एजेन्डामाथि छलफल भएको थियो। बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ, संगठनसम्बन्धी प्रस्ताव, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र मधेस प्रदेशसभाको समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको थियो।

बैठकको पहिलो दिन एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो। त्यस्तै, मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीका अधिवेशन गर्ने निर्णय पनि भएको थियो।

जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णयसमेत बैठकले गरेको थियो।

त्यसैगरी, मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय भएको थियो।