दमक-नेकपा एमालेले ‘मिशन जागरण’ अभियानअन्तर्गत झापामा पार्टीका गतिविधिलाई तीव्र बनाएको छ। अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा भेला, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन भइरहेका छन्।
यसैक्रममा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा जिल्ला कमिटी सदस्य तथा माथिल्लो कमिटीका सदस्यहरूसँग अन्तरक्रिया गरेको छ। दमकस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहाल प्रमुख अतिथि थिए।

कार्यक्रममा दाहालले सुशासनको मागसहित सुरु भएको युवा आन्दोलनलाई विदेशी शक्तिको प्रभावमा राष्ट्रियताविरोधी शक्तिले कब्जा गरेको आरोप लगाए। उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले केही गर्न नसकेको भन्दै एल्गोरिदममार्फत जनतामा भ्रम फैलाइएको दाबी गरे।
यस्ता भ्रम चिर्दै एमालेलाई देशको पहिलो र निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्रियतापूर्वक लाग्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले ‘मिशन जागरण’ अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।

एमाले क्षेत्रीय संयोजक नारायण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय बनाउन नेताहरूले कार्यकर्तालाई निर्देशन दिएका थिए।
जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको एमालेको दमकस्थित पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो।




प्रतिक्रिया