अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडको १ अर्ब १५ करोड ६८ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बिर्तामोडको १ अर्ब १५ करोड ६८ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता


बिर्तामोड-बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय–व्यय विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन्।

प्रस्तावित बजेटमा आन्तरिक स्रोत, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई प्रमुख आय स्रोतका रूपमा समेटिएको छ। बेरुजु असुलीबाट प्राप्त हुने सात लाख रुपैयाँसमेत आयमा गणना गरिएको छ।

नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरेको छ। प्रशासनिक खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय कार्यक्रम सञ्चालनका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासअन्तर्गत कृषि, पशुपालन, उद्यम विकास, रोजगारी, सीपमूलक तालिम, पर्यटन तथा अन्य कार्यक्रमका लागि ३ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापनका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा ३ करोड १८ लाख, स्वास्थ्य कार्यक्रमका लागि १ करोड, कृषि विकासका लागि १ करोड ६ लाख तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप तथा रोजगारी प्रवर्द्धनका लागि ७१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। सहकारी प्रवर्द्धनका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सीमित स्रोत–साधनका बाबजुद बजेट कार्यान्वयन प्रभावकारी रहेको बताइन्। आन्तरिक आम्दानी अपेक्षाअनुसार वृद्धि हुन नसक्नु, संघीय अनुदानमा निर्भरता तथा निर्माण सामग्रीको बढ्दो मूल्य चुनौतीका रूपमा रहेको उनको भनाइ थियो।

‘चुनौतीका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ,’ नगर प्रमुख प्रसाईंले भनिन्।

नगरसभाको बैठकमा विषयगत समितिका संयोजकहरूले आफ्नो क्षेत्रका उपलब्धि, समस्या तथा चुनौती समेटिएका प्रतिवेदन नगर प्रमुखलाई बुझाएका थिए।

Skip This