काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागिएको बताएका छन्।
आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्ने महासचिव पोखरेलले बताए। भेलामार्फत पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य रहेको महासचिव पोखरेलको भनाइ छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यकर्ता भेला तयारी समितिको बैठकमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
बैठकमा भेलाको तयारी, विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिको अवस्था, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा विस्तृत समीक्षा गरिएको थियो।
संगठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ।
भेलामा ३४६ केन्द्रीय सदस्य, ८१ केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका ५५ प्रतिनिधि, जिल्ला तहका ४४० र पालिका कमिटीका एक हजार ५०६ प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५, प्रदेश सभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १०६, उपप्रमुख तथा उपाध्यक्ष ३४२ र जनसंगठनका नौ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
बैठकमा एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायतका नेताहरू सहभागी थिए।



प्रतिक्रिया