अर्जुनधारा-अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नियमित अधिवेशनमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नारासहित बजेट प्रस्तुत गरेकी हुन्।
सार्वजनिक बजेटमध्ये पूर्वाधार विकास क्षेत्रलाई उच्च प्राथमिकता दिँदै १० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख तथा आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ। प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले बजेट कार्यान्वयनका लागि संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २५ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ४७ लाख तथा सशर्त अनुदानबाट ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ६० लाख २३ हजार र राजस्व बाँडफाँडबाट १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै, आन्तरिक राजस्वबाट ७ करोड ५० लाख, मालपोत तथा रजिष्ट्रेसन शुल्कबाट ५ करोड र जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
उपप्रमुख पराजुलीले चालु आर्थिक वर्षको समीक्षा गर्दै ९८ करोड ९९ लाख रुपैयाँको बजेटमध्ये हालसम्म ६७ प्रतिशत खर्च भइसकेको र असार मसान्तसम्ममा खर्च प्रगति ८५ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिइन्। गत भदौमा भएको आन्दोलनका क्रममा नगर कार्यपालिका तथा वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडबाट १६ करोड रुपैयाँभन्दा बढी क्षति पुगे पनि मर्मत सम्भार गरी सेवा प्रवाहलाई नियमित बनाइएको उनले बताइन्।
आगामी वर्षका लागि नगरपालिकाले कृषि क्षेत्रमा रैथाने बाली संरक्षण, साना किसानलाई प्रविधि हस्तान्तरण तथा प्रदेशकै नमुना पशु अस्पताललाई पूर्ण सञ्चालनमा ल्याउने नीति लिएको छ। सामाजिक विकासतर्फ ‘हाम्रो अर्जुनधारा’ स्थानीय पाठ्यपुस्तकको पठनपाठन, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी, विपन्न परिवारका लागि आवास मर्मत, अटिजम केयर सेन्टर स्थापना तथा ज्येष्ठ नागरिकका लागि वडास्तरमै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
नगरपालिकाले सूचना प्रविधिमा आधारित डिजिटल सुशासनलाई संस्थागत गर्दै जग्गा अतिक्रमण नियन्त्रण र भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई पनि प्राथमिकतामा राखेको छ। उपप्रमुख पराजुलीले बजेटलाई आय–व्ययको विवरण मात्र नभई नगरवासीको समृद्धिको मार्गचित्रका रूपमा व्याख्या गर्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
नगरसभाका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङले अधिवेशन असार १२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए।






प्रतिक्रिया