काठमाडौं-कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।
नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्यांकन प्रक्रियामा त्रुटि भएको, प्राप्ताङ्क वास्तविक प्रदर्शनअनुसार नआएको तथा पुनर्मूल्यांकन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए। प्रदर्शनकारीहरूले हालको मूल्यांकन प्रणालीले विद्यार्थीहरूको शैक्षिक भविष्यमा प्रत्यक्ष असर पारेको भन्दै सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन्।
माइतीघर मण्डलमा भेला भएका विद्यार्थीहरूले प्लाकार्डसहित नाराबाजी गर्दै राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएका थिए। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले, ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ?’, ‘जवाफ दे’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?’ र ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफुहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् । प्रदर्शनकारीहरूले पारदर्शी र विश्वसनीय मूल्यांकन प्रणाली लागू गर्न, उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न तथा नतिजासम्बन्धी गुनासो सुनुवाइका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न माग गरेका छन्। उनीहरूले परीक्षा नतिजासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन्।
कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन्।
शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको प्रष्टीकरण दिएको छ।








प्रतिक्रिया