अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन

विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन


काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले साेमबार एक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे। 

विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो। शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

निर्देशनअनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ६० दिनभित्र विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’संयन्त्र विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ। यो निर्णय कार्यान्वयनका लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयलाई समेत बोधार्थ पठाइएको छ। 

Skip This