काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले दलीय विद्यार्थी संगठनको संरचना हटाउन गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गम्भीर आपत्ति जनाएको छ।
त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कदमलाई वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा तथा प्राज्ञिक स्वतन्त्रता र विश्वविद्यालयको प्रशासनिक स्वायत्ततामाथिको हस्तक्षेपको प्रयास भएको टिप्पणी गरिएको छ।
विज्ञप्तिमा विश्वविद्यालयलाई सरकारको छायामा सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उच्च शिक्षामा देखिएको बेथितिको अन्त्यका लागि प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने विद्यमान व्यवस्था नै खारेज गर्नुपर्ने माग गरिएको छ।
स्ववियुले सर्वोच्च अदालतले विश्वविद्यालय समन्वय समितिको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा पुनः यस्तो पत्राचार गर्नु अदालतको आदेशको ठाडो उल्लङ्घन तथा गैरकानुनी कार्य भएको जनाएको छ।
स्ववियुले आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीहरूको मत प्राप्त गरी दुई वर्षका लागि निर्वाचित प्रतिनिधि भएको स्मरण गराउँदै कानुनी राज्य र विधिको शासनप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
साथै, सरकारको अदालतको आदेशविपरीतको नीतिलाई सर्वोच्च अदालतले बदर गर्ने विश्वास व्यक्त गर्दै त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका सम्पूर्ण विद्यार्थीलाई संयमता, धैर्यता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेको छ।







प्रतिक्रिया