काठमाडौं-सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गर्दै कार्यालय तथा सार्वजनिक स्थलमा धूम्रपान, मदिरा सेवन, जुवातास खेल्ने लगायतका अमर्यादित गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताको दफा ६ (झ) मा कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, धूम्रपान गर्ने, जुवातास खेल्ने वा अन्य अमर्यादित कार्य गर्न वा गराउन नहुने स्पष्ट उल्लेख गरिएको छ।
सरकारले कर्मचारीलाई अनुशासित, मर्यादित र जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ। यसले सार्वजनिक सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
आचारसंहिताअनुसार कर्मचारीले सम्बन्धित निकायको स्वीकृतिबिना कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, आतिथ्यता वा अन्य कुनै प्रकारको सुविधा स्वीकार गर्न पाउने छैनन्। साथै, आफ्नो पद वा जिम्मेवारीको दुरुपयोग गरी व्यक्तिगत लाभ हुने कुनै पनि कार्यमा संलग्न हुनसमेत निषेध गरिएको छ।
सरकारले जारी गरेको आचारसंहिताले सरकारी कर्मचारीको व्यावसायिक आचरण, पारदर्शिता र नैतिकतालाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।






प्रतिक्रिया