काठमाडौं-नेपालको अग्रणी निजी वाणिज्य बैंकमध्ये एक नबिल बैंक ले स्थापनाको ४२औँ वर्ष पूरा गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त बनाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सफलताको आधार ‘विश्वास’ रहेको बताउँदै यही विश्वासले बैंकको भविष्य निर्माण गर्ने उल्लेख गरे। उनले नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै परिवर्तनको नेतृत्व गरेको दाबी गरे।
‘हामीले परिवर्तनको प्रतीक्षा गरेनौँ, सधैँ त्यसको नेतृत्व गर्यौँ,’ अध्यक्ष चौधरीले भने, ‘आधुनिक बैंकिङको जग बसाल्ने कामदेखि ‘एनबैंक’ (nBank) मार्फत डिजिटल बैंकिङको नयाँ अनुभव प्रदान गर्नेसम्म नबिलले निरन्तर नवप्रवर्तनलाई प्राथमिकता दिएको छ।’
उनका अनुसार नबिल बैंक नेपालकै एकमात्र यस्तो वित्तीय समूह हो, जसले वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङ सेवासहितको एकीकृत वित्तीय इकोसिस्टम निर्माण गरेको छ।
अध्यक्ष चौधरीले आगामी दिनमा एआईलाई बैंकको रणनीतिक केन्द्रमा राखिने जानकारी दिँदै बैंकिङ सेवालाई अझ स्मार्ट, सुरक्षित र व्यक्तिगत बनाइने बताए। एआईको प्रयोगबाट द्रुत कर्जा प्रवाह, प्रभावकारी जोखिम व्यवस्थापन, उत्कृष्ट ग्राहक अनुभव तथा वित्तीय समावेशीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा स्थापना भएको नबिल बैंक आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण यो उचाइमा पुगेको बताए। उनले बैंक केवल वित्तीय सेवा प्रदायक संस्था नभई ग्राहकको सपना र सफलताको यात्रामा भरोसायोग्य साझेदार भएको उल्लेख गरे।
बैंकले कृषि, ऊर्जा, पर्यटन तथा लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, एमएसएमई क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिएको छ।
वित्तीय सूचकांकतर्फ पनि बैंकले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ हाल ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत सेवा प्रदान गरिरहेको बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म विभिन्न ग्राहक–केन्द्रित विशेष योजना सञ्चालन गर्ने घोषणा गरेको छ। हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारबाट प्रभावित परिवारका लागि पुनःनिर्माण घर कर्जा योजना ल्याइएको छ। साथै लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) सेवामा ५० प्रतिशतसम्म छुट तथा क्रेडिट–डेबिट कार्ड सेवामा विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ।
नबिल बैंकले आगामी दिनमा दिगो बैंकिङ, डिजिटल रूपान्तरण र एआई प्रविधिमार्फत ग्राहकको अपेक्षाअनुसार सेवा विस्तार गर्दै नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।






प्रतिक्रिया