अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीको दुर्व्यवहारमा परेका माजिद अन्सारीले गरे अस्पतालको शय्याबाट जीवनरक्षाको अपिल

प्रहरीको दुर्व्यवहारमा परेका माजिद अन्सारीले गरे अस्पतालको शय्याबाट जीवनरक्षाको अपिल


काठमाडौँ-अस्पतालको शय्यामा उपचाररत जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सार्वजनिक रूपमा गुहार मागेका छन्। कीर्तिपुरस्थित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा प्रहरीबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गर्दै उनले राज्यका जिम्मेवार निकाय, जनप्रतिनिधि, नागरिक समाज र मानवअधिकार समुदायसँग न्याय र सुरक्षा मागेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो अपिलमा अन्सारीले आफूलाई २०८३ असार २७ गते शनिबार साँझ करिब ५ बजेतिर १०-१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको दाबी गरेका छन्। उक्त घटनामा आफू गम्भीर घाइते भएको र हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेको उनले उल्लेख गरेका छन्।

शारीरिक पीडाभन्दा पनि कानुनी अन्योलले आफूलाई बढी पीडा दिएको उनको भनाइ छ। पक्राउ गरिएको यतिका दिन बितिसक्दा पनि आफूलाई पक्राउको कारण नबताइएको, पक्राउ पुर्जी नदेखाइएको र आफ्नो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्ट जानकारी नदिइएको भन्दै उनले गम्भीर प्रश्न उठाएका छन्।

उनले गृहमन्त्री र प्रहरी प्रमुखलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई पक्राउ पुर्जी देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन। यी सबै कारबाही किन यति लक्षित रूपमा मविरुद्ध गरियो ?’

अन्सारीले आफूले अहिले सबैभन्दा बढी खोजेको कुरा न्याय मात्र नभई जीवनको सुरक्षा भएको बताएका छन्। उनले संघीय संसदका सबै सांसद, प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार समुदाय र मानवअधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको रक्षा गरिदिन आग्रह गरेका छन्।

उनको अपिलमा लेखिएको छ, ‘म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानवअधिकार समुदायहरू तथा सबै मानवअधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन अनुरोध गर्दछु।’

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका बेला भएको घटनापछि अन्सारीले सार्वजनिक गरेको यो अपिलले सामाजिक सञ्जालमा नयाँ बहस सुरु गरेको छ। यद्यपि, अन्सारीले लगाएका आरोपबारे सम्बन्धित सुरक्षा निकायबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

Skip This