काठमाडौं-राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा स्थानान्तरण सफलतापूर्वक सम्पन्न गर्दै आइतबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागका अनुसार नयाँ प्रणाली कार्यान्वयनका क्रममा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। विभागले यसलाई नेपालको सार्वजनिक सेवा प्रणालीमा हालसम्मकै सबैभन्दा ठूलो डेटा माइग्रेसनमध्ये एक भएको जनाएको छ।
विभागले नयाँ प्रणाली सञ्चालनको प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरण प्रक्रियामा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ। यस्ता सम्भावित समस्यालाई मध्यनजर गर्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञलाई २४सै घण्टा ‘स्ट्यान्डबाई’ राखिएको छ। उनीहरू प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जनाएको छ।
विभागले देखिन सक्ने प्राविधिक समस्याको शीघ्र समाधानका साथै दीर्घकालीन रूपमा प्रणालीलाई थप प्रभावकारी र स्थिर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ प्रणाली सुरुवाती चरणमा रहेकाले अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीलाई मात्र तत्काल राहदानीका लागि आवेदन दिन विभागले अनुरोध गरेको छ। यसबाट प्रणालीको स्थायित्व र सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।
त्यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा कुनै पनि भ्रममा नपरी विभाग तथा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन विभागले आग्रह गरेको छ।
राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो, सुरक्षित र विश्वसनीय सेवा उपलब्ध गराउन आफू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।






प्रतिक्रिया