विराटनगर-कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीका लागि साताको दुई दिन स्थानीय कपडाबाट बनेको अफिस पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था लागू गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ देखि कार्यान्वयनमा आएको व्यवस्थाअनुसार प्रत्येक बुधबार र शुक्रबार कर्मचारीहरूले कोशी प्रदेशमै उत्पादन भएका ढाका, खादी (खाँडी), अल्लो तथा अन्य स्थानीय कपडाबाट निर्मित पोशाक लगाउनुपर्नेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोही निर्णय कार्यान्वयन गर्दै सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले बिहीबारदेखि स्थानीय उत्पादनबाट बनेका पोशाक प्रयोग गर्न थालेका छन्।
प्रदेश सरकारले यो व्यवस्थालाई प्रभावकारी बनाउन नियमित पोशाक भत्ताबाहेक प्रतिव्यक्ति वार्षिक ५ हजार ५०० रुपैयाँ थप विशेष पोशाक सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहे प्रदेश सरकारले लागत साझेदारीसहित आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो।
उहाँका अनुसार स्थानीय पोशाक प्रयोगको अभियानले कोशी प्रदेशमा उत्पादन हुने ढाका, खादी र अल्लोजस्ता स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। यसबाट स्थानीय उद्योग, उद्यमी तथा बुनकरहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास प्रदेश सरकारको छ।
हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ कर्मचारी कार्यरत छन् भने स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी रहेको छ। प्रदेश सरकारले कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाई स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने तथा प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ।






प्रतिक्रिया