काठमाडौं–नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जना विद्यार्थी नेताको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गरिएको दमन र गिरफ्तारीको कडा विरोध गरिएको छ।
एमालेले मुलुकमा बढ्दो मूल्यवृद्धि, सुकुम्बासीमाथिको अत्याचार तथा राज्य आतंकविरुद्ध जनसरोकारका मुद्दा उठाउँदै सिंहदरबार गेट अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि सरकारले बर्बर दमन गरेको आरोप लगाएको छ। वक्तव्यमा सरकार आफैंले राजधानीका सञ्चारगृह, राजनीतिक नेता तथा व्यवसायीका निवास र कार्यालय आसपास गाडी पार्किङ गराएर अवरोध सिर्जना गरेको घटनाको सांकेतिक विरोध गरिरहेका विद्यार्थी नेताहरूलाई प्रहरीले बलपूर्वक पक्राउ गरेको उल्लेख गरिएको छ।
गिरफ्तार गरिएकामध्ये अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकी रहेका छन्। एमालेले उनीहरूको गिरफ्तारीलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको जनाएको छ।
पार्टीले सरकारको उक्त कदमलाई लोकतन्त्र र मानवअधिकारको ठाडो उल्लङ्घन तथा अधिनायकवादी प्रवृत्तिको उदाहरण भन्दै कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। साथै, गिरफ्तार गरिएका सातै जना विद्यार्थी नेताहरूलाई तत्काल, बिनासर्त र ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।







प्रतिक्रिया