अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन शाहको गतिविधि शंकास्पद: एमाले प्रमुख सचेतक महर

प्रधानमन्त्री बालेन शाहको गतिविधि शंकास्पद: एमाले प्रमुख सचेतक महर


काठमाडौं-नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार सञ्चालन हुन नसकेको आरोप लगाएका छन्। प्रमुख सचेतक महरले प्रधानमन्त्री शाहको पछिल्लो गतिविधि शंकास्पद देखिएको टिप्पणी गर्दै सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको दाबी गरे।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै महरले सरकारले सुशासनको एजेन्डालाई नै मजाकको विषय बनाएको आरोप लगाए। उनले वर्तमान सरकारको कार्यशैलीलाई आलोचना गर्दै भने, ‘यो सरकार टाउकोले टेकेर हिँडेजस्तै भएको छ, यस्तो शैलीले गन्तव्यमा पुग्न सकिँदैन।’

महरले जनताले विश्वास र अपेक्षासहित दिएको जनादेशको सम्मान गर्न सरकार असफल भएको बताए। ‘सरकार जनताको मतको रक्षा गर्न र त्यसअनुसार काम गर्न चुकेको छ। जनमतको सम्मान गर्ने जिम्मेवारीबाट सरकार विमुख भएको देखिन्छ,’ उनले भने।

सरकारलाई सही मार्गमा ल्याउन सबै राजनीतिक शक्ति र नागरिक समाज एकजुट भएर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो। उनले आफूले संसद्मा पनि सरकार सफल हुनुपर्ने र जनताका अपेक्षा पूरा गर्नुपर्ने धारणा राख्दै आएको उल्लेख गरे।

‘हामी सरकार सफल होस् भन्ने चाहन्छौँ। तर सुरुदेखि नै सरकार प्रतिशोध, धम्की र टकरावको राजनीतिमा केन्द्रित भयो,’ महरले भने, ‘आलोचनालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुको सट्टा सरकार आलोचकलाई नै शत्रुका रूपमा हेर्ने प्रवृत्तिमा लागेको छ।’

महरले वर्तमान परिस्थितिबाट पाठ सिक्दै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने र जनताको अपेक्षाअनुसार शासन सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।

Skip This