काठमाडौं-विशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय सुनाएको छ। अदालतले पौडेलसँगै अभियुक्त दीपक आनन्दलाई पनि दोषी ठहर गर्दै जरिबाना तथा अन्य आर्थिक दायित्व तोकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीविरुद्ध ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुनुवाइपछि अभियुक्तहरूलाई कसुरदार ठहर गरेको हो।
अदालतले अख्तियारले दाबी गरेको सम्पूर्ण रकम घुसका रूपमा बरामद भएको वा उक्त रकम कहाँ राखिएको भन्ने पर्याप्त प्रमाण प्रस्तुत हुन नसकेको उल्लेख गरेको छ। तर, अभियुक्तहरूको संलग्नता, जिम्मेवारी र मुद्दाको प्रकृतिलाई आधार मान्दै उनीहरूलाई सजाय निर्धारण गरिएको अदालतले जनाएको छ।
फैसलाअनुसार सुनिल पौडेल र दीपक आनन्दलाई बिगोको आधारमा दामासाही हुने गरी जनही १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिबाना गरिएको छ। साथै दुवै अभियुक्तबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा जम्मा गराउन पनि अदालतले आदेश दिएको छ।






प्रतिक्रिया