अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मास्टर्नी’को प्रमोसनल गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

‘मास्टर्नी’को प्रमोसनल गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग


काठमाडौं– नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीत ‘म्याथ सिक्ने भए…’ प्रति गम्भीर आपत्ति जनाउँदै उक्त गीत तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा द्वारा शुक्रबार जारी संयुक्त विज्ञप्तिमा महिला शिक्षकलाई लक्षित गर्दै अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्धनात्मक सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।’

महासंघले गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनीसमेत दिएको छ।

गत मंगलबार सार्वजनिक गरिएको उक्त प्रचारात्मक गीत सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। रिल्स र टिकटकमा लोकप्रिय बनेको यस गीतका दुईअर्थी शब्द र केही नृत्य प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। धेरैले गीतलाई महिला शिक्षकको मर्यादा र शिक्षण पेसाको सम्मानमाथि चोट पुर्‍याउने खालको भन्दै आपत्ति जनाएका छन्।

यद्यपि फिल्मकी निर्माता तथा कलाकार प्रियंका कार्की ले भने उक्त गीतलाई केवल मनोरञ्जनका रूपमा लिन आग्रह गरेकी छन्।

दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतमा गायिका बबिना किराँती ले स्वरमा साथ दिएकी छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा दुर्गेश थापा, प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड छन्। गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन्।

सुवेन्दु घोष निर्देशित चलचित्र ‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त निर्माण रहेको फिल्ममा प्रियंका कार्कीको कथा तथा शान बस्नेतको पटकथा र संवाद रहेको छ।

फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय रहेको छ।

Skip This