अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भी.पी. अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

भी.पी. अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत


काठमाडौँ-शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा. विश्वनाथ प्रसाद (भी.पी.) अग्रवालको स्मृतिमा स्थापित भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयका उत्कृष्ट पाँच जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मान गरेको छ।

फाउन्डेसनले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन विषयमा उत्कृष्ट अध्यापन गर्दै आएका शिक्षकलाई छनोट गरी पुरस्कार प्रदान गरिएको हो।

यस वर्ष सम्मानित हुने शिक्षकहरूमा नेपाली विषयतर्फ काठमाडौंको कीर्तिपुरस्थित मंगल माध्यमिक विद्यालयकी अञ्जना महर्जन, अंग्रेजी विषयतर्फ सोही विद्यालयकी शर्मिला प्रधान, गणित विषयतर्फ चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका राजकुमार कँडेल, सामाजिक अध्ययनतर्फ काठमाडौंको टुसालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयका प्रकाश आचार्य तथा विज्ञान विषयतर्फ सोही विद्यालयका मुकुन्दप्रसाद काफ्ले रहेका छन्।

पुरस्कार फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्ष ललिता अग्रवालले संयुक्त रूपमा प्रदान गरेका थिए।

भी.पी. अग्रवाल साइन्स फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्रा.डा. विश्वनाथ प्रसाद (भी.पी.) अग्रवालको शिक्षा दर्शनलाई निरन्तरता दिने उद्देश्यले उत्कृष्ट शिक्षकलाई सम्मान गर्न थालिएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले शिक्षामा सुधारबिना देशको विकास र नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन सम्भव नहुने विश्वास स्वर्गीय भी.पी. अग्रवालको रहेको स्मरण गरे। अध्यक्ष अग्रवालले सोही विचारलाई आत्मसात् गर्दै फाउन्डेसन स्थापना गरिएको र शिक्षाको उज्यालो फैलाउन निरन्तर योगदान पुर्‍याउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए।

अध्यक्ष अग्रवालले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि समर्पित शिक्षकलाई प्रोत्साहन गर्ने अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

‘भी.पी. अग्रवाल मानव जातिको पहिलो रोजाइ शिक्षा हुनुपर्छ भन्नुहुन्थ्यो। आफन्त, चिनेजानेका, नातेदार, छिमेकी मात्रै होइन, दुःखी र गरिबलाई पनि आफूले सकेसम्म सहयोग गरेर पढाउने गर्नुहुन्थ्यो। घरमै ल्याएर पनि धेरै जनालाई पढाउनु भएको छ। शिक्षा प्राप्त गरेको मानिसले मात्रै जीवनमा राम्रो प्रगति गर्न सक्छ, धेरै उपलब्धी हासिल गर्न सक्छ। र, शिक्षा प्राप्त गर्नको लागि असल र राम्रो शिक्षक चाहिन्छ । शिक्षाप्रतिको उहाँको समर्पण र योगदानलाई सम्मान गर्न र असल शिक्षकलाई प्रोत्साहन गर्न फाउन्डेसनले सानै भएपनि यो पुरस्कार र सम्मान कार्यक्रम राखेको हो,’ अध्यक्ष अग्रवालले भने।

शिक्षक पुरस्कृत गर्नको लागि फाउन्डेसनले देशभरबाट आवेदन आव्हान गरेको थियो। यसरी प्राप्त भएका आवेदनबाट फाउन्डेसनले तयार पारेको मापदण्डका आधारमा शिक्षक छनोट गरी पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक केदार बहादुर अधिकारीले बताए। अधिकारी नेपाल सरकारका अवकाशप्राप्त सचिव हुन्। उनले सार्वजनिक सूचना प्रकाशन गरिएको, छनोट प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै मापदण्ड बनाइएको, शिक्षकहरुले पठाएको मापदण्डमा विद्यार्थी पासको संख्या लगायतका विषयमा शिक्षा विभागसँग संपरीक्षण गरिएको र निस्पक्षता कायम गर्न सबै उपाय अपनाइएको बताए।

फाउन्डेसनका महसचिव मनोज अग्रवालले विज्ञान र समाजवीचको पुललाई अझ प्रगाढ बनाउन प्रतिष्ठान स्थापना गरी शिक्षकलाई पुरस्कार र सम्मान गर्न सुरु गरिएको बताए।

पुरस्कृत शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षिका अन्जना महर्जनले पुरस्कारले आफूलाई जिम्मेवारीवोधमा अझ गम्भीर बनाएको र फाउन्डेसनले आफूमार्फत सम्पूर्ण शिक्षकको सम्मान गरिएको अर्थमा आफूले बुझेको बताइन्। यस्तै, पुरस्कृत अर्का शिक्षक राजकुमार कडेलले फाउन्डेसनले सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरेर देशभरका सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण शिक्षा क्षेत्रलाई सम्मान गरेको बताए ।

फाउन्डेसनले देशका कुनाकाप्चासम्ममा रहेका विद्यालय तहका शिक्षकहरुले पनि देशव्यापी प्रतिस्पर्धामा सहभागी भएर पुरस्कार पाउन सक्ने अवस्था सिर्जना गरेको थियो।

नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिइएको हो । पुरस्कार भी.पी. अग्रवाल फाउन्डेसनले प्रदान गर्न लागेको हो।

स्वर्गीय प्राडा विश्वनाथ प्रसाद (भी.पी.) अग्रवालको नाममा स्थापना गरिएको भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका शिक्षकबाट पुरस्कारका लागि आवेदन आव्हान गरेको थियो।

यस्ता छन् मापदण्डहरुः

प्रतिशिक्षक २ लाख २२ हजार २२२ रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्नको लागि पुरस्कार छनोट समिति बनाइएको थियो। सो समितिका संयोजक नेपाल सरकारका पूर्वसविच केदारबहादुर अधिकारी थिए भने अन्य सदस्यहरु शिक्षा क्षेत्रका स्थापित व्यक्तित्वहरु थिए।

छनोट समितिले सम्बन्धित विद्यालयको स्थायी शिक्षक वा कम्तीमा पाँच वर्ष निरन्तर काम गरेको करार वा राहत कोटामा काम गरेको शिक्षक हुनु पर्ने, सम्बन्धित विषयमा पछिल्लो दुई वर्षको विषयगत नतीजामा कम्तीमा असी प्रतिशत विद्यार्थी उत्तीर्ण भएको हुनुपर्ने, विद्यालयको समग्र उत्तीर्ण नतिजा आवेदन वर्षहरूमा कम्तिमा ३५ प्रतिशत भएको हुनुपर्ने र हिमाली र पहाड़ी जिल्लामा कम्तीमा २० जना, तराई र काठमाडौं उपत्यकामा कम्तीमा ३० जना विद्यार्थी परीक्षामा सहभागी भएको भएको हुनुपर्ने मापदण्ड बनाइएको थियो।

अन्य मापदण्डमा आवेदन अवधिमा कुनै असाधारण विदा नलिएको, सट्टा शिक्षक नराखेको, भ्रष्टाचार र फौजदारी अभियोग लागेको र कुनै विभागीय कारवाही भएको हुन नहुने, यस प्रयोजनका लागि सि ग्रेडसम्म ल्याएकोलाई मान्यता दिइने, पहिलो चरणमा प्रत्येक विषयमा उत्कृष्ट ३ जनालाई छनौट गरिने र तीन जनाको प्रस्तुति समेतका आधारमा उत्कृष्ट विषय शिक्षक छनौट गरी पुरस्कृत गरिने जस्ता मापदण्ड तय गरिएको थियो।

Skip This