काठमाडौं-प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत शिक्षा समता कर लागू नगर्ने निर्णय गरेलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकहरूसँग छलफल गर्न लागेका छन्।
शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालयका प्रतिनिधिहरूलाई बोलाइएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। बैठकमा शिक्षा समता कर खारेजको निर्णयसहित शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।
छलफलमा प्याब्सन, एनप्याब्सन, हिसानलगायत निजी विद्यालयका छाता संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्। मन्त्रालयले प्रत्येक संस्थाबाट तीन–तीन जना प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेको छ।
प्याब्सनका महासचिव आरबी कटुवालले शिक्षा समता कर तथा अन्य समसामयिक विषयमा छलफलका लागि मन्त्रालयबाट जानकारी प्राप्त भएको बताए। सरकारले कर हटाउने निर्णय गरेपछि निजी विद्यालय क्षेत्रको धारणा बुझ्न र आगामी नीतिगत विषयमा परामर्श गर्न बैठक आयोजना गरिएको बुझिएको छ।






प्रतिक्रिया