अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी

बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी


मकवानपुर-बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने भएका छन्। एमालेले पार्टी केन्द्रको निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय गर्दै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार एमालेका सबै मन्त्रीहरूले आजै सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। उनले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइने बताए। “हामी राजीनामाको तयारीमा छौँ। संसदीय दलको समन्वयमा मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइनेछ,” उनले भने।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि मन्त्रीहरूको राजीनामा आजै हुने जानकारी दिए। उनका अनुसार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा मुख्यमन्त्रीसँग भेट गरी राजीनामा बुझाउने सहमति भएको छ। उनले आगामी सरकार गठनबारे पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढिने बताए।

यता मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एमालेका मन्त्रीहरूको राजीनामा आउने जानकारी पाएपछि सुशासन केन्द्र जावलाखेलतर्फ प्रस्थान गरेको बताएका छन्। उनले केहीबेरमै मन्त्रीहरूसँग भेटघाट हुने जानकारी दिए।

नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेका डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ मन्त्री रहेका छन्। प्रदेश सरकारले हालै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरे पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेन।

एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। अब नयाँ गठबन्धन र सरकार गठनको प्रक्रिया केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताइएको छ।

Skip This