अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइन्छ: शिक्षामन्त्री पोखरेल

चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइन्छ: शिक्षामन्त्री पोखरेल


काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा देखिएको राजनीतिकरण अन्त्य गर्दै आगामी चार वर्षभित्र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयको नेतृत्व, नियुक्ति, सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णयहरू अब राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा हुने स्पष्ट पारे।

मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि राजनीतिक दल वा शक्तिबाट अनुचित दबाब आए तत्काल शिक्षा मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। विश्वविद्यालयको स्वायत्तता संरक्षण गर्न र राजनीतिक हस्तक्षेप रोक्न मन्त्रालय आवश्यक सुरक्षा र सहयोग दिन तयार रहेको उनको भनाइ थियो।

‘अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीको आधारमा निर्माण हुनेछ,’ मन्त्री पोखरेलले भने, ‘कसैलाई नियुक्ति गर्ने, सरुवा गर्ने, बढुवा गर्ने वा कुनै जिम्मेवारी दिने निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैन।’

मन्त्री पोखरेलले आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक शक्तिबाट दबाब आए त्यसको प्रतिरोध गर्न सरकार तयार रहेको बताउँदै विश्वविद्यालयका सबै निर्णय योग्यताका आधारमा गरिने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर सुधार, सुशासन र शैक्षिक स्वतन्त्रतालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको पनि बताए।

Skip This