काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पञ्चायतकालभन्दा पनि बढी दमनकारी शैली अपनाएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामाथि नै आघात पुग्ने गरी राज्य संयन्त्र प्रयोग भइरहेको दाबी गरे।
४८ औं पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायतकालमा समेत अहिले जस्तो बर्बरता नदेखिएको टिप्पणी गरे। आफूलाई पक्राउ गरिएको घटनाको स्मरण गर्दै उनले त्यसबेला विरोधमा उत्रिएका पार्टीका नेता–कार्यकर्तामाथि समेत राज्यले दमन गरेको आरोप लगाए।
अध्यक्ष ओलीले प्रहरी प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाउँदै केही प्रहरी अधिकारी राजनीतिक निर्देशनमा चलिरहेको संकेत गरे। उनले सरकारको व्यवहार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘कुन दमन, कुन बर्बरता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ?’ भन्दै उनले सरकारप्रति आक्रोश पोख्दै केही प्रहरीहरू राजनीतिक आदेश पालना गर्नमै केन्द्रित भएको आरोप लगाए।
अध्यक्ष ओलीले सरकार समयमै सचेत र जिम्मेवार नभए जनताले नै दमनविरुद्ध आवाज उठाउनुपर्ने चेतावनीसमेत दिए। उनका अनुसार लोकतन्त्रको रक्षा र नागरिक अधिकारको संरक्षणका लागि जनताको जागरण आवश्यक भएको छ।






प्रतिक्रिया