अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेन

प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेन


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन्। प्रधानमन्त्री बनेपछि उनी नेपाली सेनाको कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका थिए। त्यसपछि सोमबार नेपाल प्रहरीको कार्यक्रममा सहभागी भएका हुन्।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित दबाब र प्रभावमा नपर्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।

उनले भेदभावरहित र निष्पक्ष रूपमा काम गर्दै नागरिकको विश्वास जित्न प्रहरी अधिकारीहरूलाई आग्रह गरे। पेसागत सफलताको पहिलो आधार इमानदारिता, निष्ठा र नैतिकता भएको उल्लेख गर्दै उनले जिम्मेवारीप्रतिको जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।

‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन। संगठनको प्रोटोकलविपरीतका काममा संलग्न हुनुहुनेछैन,’ उनले भने।

प्रधानमन्त्री शाहले प्रहरी सेवामा पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नुपर्नेमा जोड दिए। तालिमका क्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न पनि उनले दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।

नेपाल प्रहरीको काँधमा देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका अधिकार तथा स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै शाहले कर्तव्य निर्वाह गर्दा नागरिकको भावना र अपेक्षालाई ध्यान दिनुपर्ने बताए।

समयसँगै अपराधका प्रवृत्ति बदलिँदै गएको भन्दै प्रधानमन्त्रीले परिणाममुखी अनुसन्धानका लागि सूचना प्रविधि र आधुनिक प्राविधिक साधनको प्रयोग आवश्यक रहेको बताए। अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तत्पर रहेको उनको भनाइ थियो।

‘सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिन्छ। यसबाट समयको बचत हुनुका साथै समयमै अपराध अनुसन्धान गर्न र घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्छ,’ उनले भने।

प्रधानमन्त्री शाहले प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आफ्ना छोराछोरीलाई आबद्ध गराउने अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गरे। उनले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल पेसागत जीवनको शुभकामना पनि दिए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार उक्त समूहबाट ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमा आठ महिला र ७१ पुरुष छन्। उनीहरूले ३४० दिनसम्म सञ्चालन भएको आधारभूत तालिम पूरा गरेका हुन्।

समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

प्रधानमन्त्री बनेपछि शाह सुरक्षा निकायका औपचारिक कार्यक्रममा सहभागी भए पनि अन्य सार्वजनिक कार्यक्रममा भने उनको उपस्थिति कम देखिने गरेको छ। सेनापछि प्रहरीको कार्यक्रममा सहभागी भएर सम्बोधन गर्नुलाई सुरक्षा निकायका नेतृत्व र जनशक्तिसँगको उनको प्रत्यक्ष संवादका रूपमा हेरिएको छ।