काठमाडौँ-नेकपा (एमाले)ले आगामी मङ्सिर पहिलो साता पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको प्रथम बैठकले पार्टीका विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन मङ्सिर २६ गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गरिनेछ। पालिका र वडा तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ । पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने र विभिन्न तहका कमिटीलाई पूर्णता दिने उद्देश्यले बैठकले यी निर्णय गरेको हो ।
बैठकले पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ । त्यसैगरी, मधेस प्रदेशसभामा पार्टीकी समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले विभिन्न जिल्लाबाट १४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको विवरणसमेत सार्वजनिक गरेको छ । मनोनयन हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन् ।
बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् । असोज २२ गतेदेखि तीन दिनसम्म चलेको स्थायी कमिटीको प्रथम बैठकले पार्टीको संगठनात्मक व्यवस्थापन, नेतृत्व चयन र आगामी कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरेको एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले गरेका निर्णयहरू यस प्रकार छन्-
१. पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते सम्पन्न गर्ने ।
२ . नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने ।
३. आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने छ । ४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।
५. बैठकले मधेस प्रदेश सभामा पार्टीका सभासद् जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।
६. बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
७. बैठकले देहाय बमोजिम १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।
मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।




प्रतिक्रिया