काठमाडौं-प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई दिइएको छ।
सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्माको अनुपस्थितिमा न्यायालयको प्रशासनिक तथा न्यायिक जिम्मेवारी मल्लले सम्हाल्नेछिन्। मल्ल सर्वोच्च अदालतकी सबैभन्दा वरिष्ठ न्यायाधीश हुन्।
शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि पनि मल्लले लामो समय कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। तर प्रधानन्यायाधीश नियुक्तिमा आफूलाई पछि पारिएको भन्दै असन्तुष्ट बनेकी मल्ल शर्मा पदभार ग्रहण कार्यक्रममा समेत सहभागी भएकी थिइनन्। उनले सोही दिनदेखि २० दिनको बिदासमेत लिएकी थिइन्।
यद्यपि, पछिल्लो समय सम्बन्ध सामान्य बन्दै गएको संकेतस्वरूप मल्ल बिहीबार साँझ प्रधानन्यायाधीश शर्मालाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
२०८३ वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसअनुसार उनी २०८३ जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए।
प्रधानन्यायाधीश नियुक्तिपछि वरिष्ठ न्यायाधीशहरूसँगको मतभेदका बीच शर्माले संवैधानिक इजलास गठन गर्दा वरिष्ठतम् तीन न्यायाधीशलाई समावेश नगरी आफैं न्यायाधीश चयन गरेका थिए, जसले न्यायालयभित्र चर्चा र विवाद सिर्जना गरेको थियो।
यसबीच भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली बिहीबार भारत पुगेको छ। भ्रमणका क्रममा भारतीय सर्वोच्च अदालतको अवलोकन तथा न्यायिक अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती सहभागी छन्। सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ।






प्रतिक्रिया