काठमाडौं-नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता गैरेले देशको कूटनीतिक अवस्था र राज्यका निकायहरूको अन्योलप्रति चासो व्यक्त गरेका हुन्।
नेता गैरेले प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय, साथै परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरू वर्तमान कूटनीतिक घटनाक्रमबारे बेखबरजस्तै देखिएको टिप्पणी गरेका छन्। उनले सत्तारूढ दलसमेत सरकारका गतिविधिबारे स्पष्ट जानकारीविहीन अवस्थामा रहेको दाबी गरेका छन्।
संसद्, राज्यका आधिकारिक निकाय र आम नागरिकसमेत अन्योलमा रहेको उल्लेख गर्दै गैरेले नेपालको कूटनीतिक दिशा र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठेको बताएका छन्।
नेपालको कूटनीतिको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै नेता गैरेले लेखेका छन्, ‘नेपालको आजको कूटनीति ! प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय के गर्दैछन् ? परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय बेखबरजस्तै देखिन्छन्। संसद्, राज्यका आधिकारिक निकाय र आम नागरिक सबै कुहिरोमा हराएको कागजस्तै अन्योलमा रहेको देखिन्छ।’
देशको कूटनीति कसले सञ्चालन गरिरहेको छ भन्ने प्रश्न उठाउँदै उनले सरकार, मन्त्रालय वा कुनै ‘अदृश्य शक्ति’ मध्ये कसको प्रभावमा नेपालको परराष्ट्र नीति अघि बढिरहेको हो भन्नेबारे स्पष्टता आवश्यक रहेको बताएका छन्। नेता गैरेले लेखेका छन्, ‘गम्भीर प्रश्न उठेको छ, नेपालको कूटनीति कसले चलाइरहेको छ ? सरकार, मन्त्रालय कि अरू नै कुनै अदृश्य शक्ति ?’






प्रतिक्रिया