अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै


काठमाडौं-नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो आयोजना करिब १९ अर्ब रुपैयाँ लागतमा बनेको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ। इभ्याकुएसन टनेल (निकास मार्ग) र क्रस–प्यासेजसमेत जोड्दा सुरुङको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।

वि.सं. २०७६ देखि जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले निर्माण थालेको यस आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनपछि सुरुङमार्ग तत्काल सर्वसाधारणका लागि खुला हुने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ।

महानिर्देशक जैसीका अनुसार उद्घाटनपछि एक साताभित्र सुरुङभित्र सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद् व्यवस्थापनको तयारीका लागि ‘मक ड्रिल’ (नमूना अभ्यास) सञ्चालन गरिनेछ। अभ्यास सफल भएपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ।

त्यसक्रममा जेट फ्यान, वायु प्रवाह तथा उत्सर्जन प्रणालीलगायत सबै प्राविधिक उपकरणको परीक्षण गरिनेछ। सबै प्रणाली प्रभावकारी रूपमा सञ्चालन भएको पुष्टि भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ।

सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारी साधन सञ्चालन गर्न भने अनुमति दिइने छैन। अन्य सवारी साधनलाई भने चरणबद्ध रूपमा सञ्चालन गर्न दिइनेछ।

महानिर्देशक जैसीले यो आयोजना सडक विभागले ‘बिल अफ क्वान्टिटी (बीओक्यु)’ मोडलमा आफैं डिजाइन र व्यवस्थापन गरी जापानी निर्माण कम्पनी तथा परामर्शदाताको सहयोगमा सम्पन्न गरेको बताए। उनका अनुसार अहिले सुरुङ निर्माणमा ईपीसी मोडल बढी प्रचलित भए पनि यो आयोजना बीओक्यु मोडलमा सफलतापूर्वक सम्पन्न भएको हो।

उनले नागढुंगाको कठिन उकालो र पहिरोको जोखिम कम गर्न विस्तृत अध्ययनपछि सुरुङमार्ग निर्माण गरिएको उल्लेख गर्दै निर्माणका क्रममा प्राविधिक तथा स्थानीय तहसँग सम्बन्धित केही चुनौती आए पनि ती सबै पार गर्दै आयोजना उद्घाटनको चरणमा पुगेको बताए।

जैसीले सुरुङमार्ग गुणस्तरीय बनेको विश्वास व्यक्त गर्दै यसले नेपालले आधुनिक सडक सुरुङ निर्माण गर्न सक्ने क्षमता स्थापित गरेको र देशको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको बताए।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जोखिमपूर्ण उकालो र बारम्बार हुने पहिरोबाट यात्रुलाई राहत पुग्ने तथा काठमाडौं प्रवेश–निर्गमन अझ सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ।

Skip This