अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविले सञ्चालन गरेको ‘एमबीएस’ परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा

त्रिविले सञ्चालन गरेको ‘एमबीएस’ परीक्षाको प्रश्नपत्र बाहिरिएको खुलासा


काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केही समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ। एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटभित्रै बाहिरिएको हो।

२०८३ साउन ८ गते दिउँसो १२ बजेदेखि सञ्चालन भएको उक्त परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही समयमै विभिन्न ह्वाट्सएप समूहमार्फत बाहिरिएको दाबी गरिएको छ। प्राप्त प्रमाणअनुसार प्रश्नपत्र १२ बजेर ६ मिनेटमै सामाजिक सञ्जालमा देखिएको बताइएको छ।

व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसेले परीक्षा सुरु भएको केही समयपछि प्रश्नपत्र ह्वाट्सएप समूहमा पठाइएको जानकारी प्राप्त भएको बताए। घटनाको सत्यतथ्य छानबिनका लागि साइबर ब्युरोलाई पत्राचार गरिएको उनले जानकारी दिए।

‘परीक्षा सुरु भएपछि प्रश्नपत्र सामाजिक सञ्जालमा गएको सूचना प्राप्त भएको छ। कुन परीक्षा केन्द्रबाट र कसले बाहिर पठाएको हो भन्ने यकिन जानकारी छैन। त्यसैले साइबर ब्युरोलाई अनुसन्धानका लागि अनुरोध गरेका छौँ,’ चालिसेले बताए।

उनका अनुसार परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राडा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राडा महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

डिन चालिसेले परीक्षा भने रद्द नहुने स्पष्ट पारे। उनका अनुसार प्रश्नपत्र परीक्षा सुरु हुनुअघि बाहिरिएको नभई विद्यार्थीलाई वितरण गरिसकेपछि सामाजिक सञ्जालमा पुगेको प्रारम्भिक निष्कर्ष छ। ‘विद्यार्थी परीक्षा दिइरहेका बेला प्रश्नपत्र बाहिरिएको देखिन्छ। परीक्षा सञ्चालनअघि नै प्रश्नपत्र सार्वजनिक भएको अवस्था नभएकाले परीक्षा रद्द गर्ने आधार देखिँदैन,’ उनले बताए।

यस घटनाप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियु सभापति दीपकराज जोशीले परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिनुले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको बताए।

उनले दुई दिनभित्र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी पहिचान गरी कानुनअनुसार कारबाही गर्न तथा आवश्यक परे सम्बन्धित पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।

त्रिविले घटनाको विस्तृत अनुसन्धानपछि वास्तविकता सार्वजनिक गर्ने जनाएको छ।

Skip This