काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। स्ववियुले घटनाको नैतिक जिम्मेवारी लिँदै व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने मागसमेत गरेको छ।
स्ववियु अध्यक्ष दीपकराज जोशीले परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने बताएका छन्। उनले दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने विषयमा स्पष्ट अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
जोशीले डीन कार्यालय स्वयं विवादमा मुछिएको अवस्थामा त्यही कार्यालयले गठन गरेको समितिबाट निष्पक्ष छानबिन हुनेमा विश्वास गर्न कठिन रहेको बताए। ‘डीन कार्यालय नै दोषी ठहरिने सम्भावना रहेको अवस्थामा उसैले गठन गरेको समितिको विश्वसनीयतामाथि प्रश्न उठेको छ। नैतिकताका आधारमा सम्बन्धित अधिकारीहरूले राजीनामा दिनुपर्छ,’ उनले भने।
यसैबीच, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्राध्यापक डा. अच्युत ज्ञवाली रहेका छन्। सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा छन्।
व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईका अनुसार समितिलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ।
साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्दै यसको सुरक्षा र परीक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। घटनापछि विद्यार्थी संगठनहरूले निष्पक्ष छानबिन, दोषीको पहिचान र कडा कारबाहीको माग गर्दै आएका छन्।
एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए। छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।
त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ।
८ साउनमा स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।
सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ’टियु स्टुडेन्ट्स’ ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहेका छन्। समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।






प्रतिक्रिया