अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सेवाका सवारी मात्रै चल्ने

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सेवाका सवारी मात्रै चल्ने


काठमाडौं-नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग उद्घाटनसँगै सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ।

उनका अनुसार करिब तीन महिनासम्म ‘ट्रायल ओपनिङ पिरियड’ सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षासम्बन्धी व्यवस्था, ट्राफिक सञ्चालन र सुरुङको समग्र कार्यसम्पादनको मूल्याङ्कन गरिनेछ। त्यसपछि प्राप्त नतिजाका आधारमा अन्य निजी तथा सार्वजनिक सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइनेछ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए। मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । निर्माण सम्पन्न भएपछि वर्तमान प्रधानमन्त्री बालेन शाहको कार्यकालमा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको हो।

राजधानी काठमाडौंलाई धादिङ हुँदै देशका अन्य भागसँग जोड्ने प्रमुख प्रवेशद्वारमा निर्माण भएको यस सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने सवारी जाम घट्ने, यात्रा समय छोटिने तथा यातायात थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

परीक्षणमा निःशुल्क, नियमित सञ्चालनपछि सवारीअनुसार शुल्क

सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग परीक्षण अवधिभर निःशुल्क सञ्चालन हुने भएको छ। आयोजनाका अनुसार परीक्षण सकिएपछि भने सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ।

सडक विभागले सार्वजनिक गरेको शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौं प्रवेश गर्दा रु ११५ तथा बाहिरिँदा रु ८० शुल्क निर्धारण गरिएको छ। त्यसैगरी बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० तिर्नुपर्नेछ। यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको वर्गअनुसार रु ६० देखि रु ६०० सम्म शुल्क निर्धारण गरिसकेको छ।

आयोजनाले पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको जनाएको छ।

करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) बाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ।

सुरुङ सञ्चालनमा आएपछि हालको नागढुङ्गा सडकखण्डमा हुने लामो जाम, उकालो र घुमाउरो सडक छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

आयोजनामा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब रु २५ अर्ब खर्च भएको छ। त्यसमध्ये निर्माणमा करिब रु १७ अर्ब, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप रु २ अर्ब र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब रु ६ अर्ब खर्च भएको आयोजनाले जनाएको छ। आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी तथा अन्य प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा ढिलो गरी आयोजना सम्पन्न भएको हो।

Skip This